महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता

नवलपुर टुडे
२०८१ असार ८ | मध्यान्ह ०५:०३ बजे

धनगढी, असार ८ । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । पाैडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो ।
रजनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । उनीहरू साेही ठाउँको कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान पाैडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा रजनी मृत फेला परेकी हुन् । बेपत्ता अस्मिताकाे खाेजी कार्य भइरहेकाे प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।























