गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा


काठमाडौं, असार ४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनको माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ । रिट हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा परेको रिटमा एमालेनिकट अधिवक्ता रमेश बडालले रविको तर्फबाट बहसका लागि वकालतमा नाम लेखाएका थिए । न्यायाधीश डा. शर्मा र बडाल पूर्व ‘ल फर्म पार्टनर’ भएकाले मुद्दा ‘हेर्न नमिल्ने’मा परेको हो ।
सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछाने पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले मिसिल कागज झिकाउन आदेश दिएको थियो ।























