लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले घरबाटै व्यवसायिक फर्म दर्ता गर्ने व्यवस्था मिलाउने : मन्त्री बस्नेत

नवलपुर टुडे
२०८१ असार ३ | मध्यान्ह ०४:०३ बजे

प्यूठान, असार ३ । आगामी आर्थिक वर्ष २०८१/०८२ देखि घरबाटै व्यवसायीक फर्म दर्ता प्रक्रिया पूरा गर्ने कार्यको व्यवस्था मिलाउने लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताउनुभयो ।

सोमबार साना तथा घरेलु कार्यलय प्युठानको आयोजना तथा उद्योग बाणिज्य संघ प्युठानको समन्वयमा भएको स्वदेश उत्पादन अभियान: उद्दमी तथा व्यवसायी बिचको अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बस्नेतले लामो समयदेखी नवीकरण नभएका फर्महरु आगामी वर्ष बिशेष छुट सहित नवीकरण गर्न सकिने बताउनुभयो ।

मन्त्री बस्नेतले ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा व्यवसायीले सरकारलाई गाली गर्ने मात्रै नभई सहकार्य गर्दै उद्योग दर्ता, नविकरण र प्याकेजिङ्गलाई कानुनी हिसाबले ख्याल गर्नुपर्ने जोड दिनुभयो । आर्थिक अपचलन गरेका सहकारीलाई कार्वाहीको दायरामा ल्याउने बताउँदै उद्यमशिलता मुलक सहकारीलाई प्रविधी हस्तान्तरण तथा तालिमको व्यवस्था हुने गरि बजेटमा समेटिएको मन्त्री बस्नेतले बताउनुभयो ।

पर्यटनको क्षेत्रमा सरकारले लगानी गरेको त्यसको प्रतिफल प्राप्त गर्न नसकेकोले प्रतिफल सहितको लगानीमा जोड दिने बताउँदै उद्योग कार्यालय जिल्ला मै रहेको र आगामी वर्षदेखि पर्यटन र सहकारी हेर्ने कार्यालय प्यूठानमै स्थापना गरिने समेत मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

उद्योग र सहकारीहरु दर्ता, संचालन र नियमनको लागि कानुन अभाव रहेको माण्डबी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । संघीयताले तीन तहको सरकार बनाए पनि कतिपय कानुन पुराना भएकोले कानुन बनाउने बाटो खोली दिन उहाँले प्रदेश सरकारलाई अनुरोध पनि गर्नुभयो ।

उद्योगी ब्यबसायीहरु निक्कै समस्यामा भएकाले राहत पुग्ने कार्यक्रम प्रदेश सरकारले ठोस रुपमा अघि बढाउनुपर्ने प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रमका बिशेष अतिथि उहाँले जिल्लामा बहुउद्देश्यीय प्रदर्शनी स्थल बनाउने योजना संघले अघि बढाएकोले सहकार्यका लागि प्रदेश सरकारलाइ अनुरोध गर्नुभयो ।

साना तथा घरेलु कार्यलय प्युठानका कार्यालय प्रमुख सरोज भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया सहभागी वक्ताहरूले साना व्यवसायीलाई नितिगत तथा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् । दृस्ठिकोण र सोचमा परिवर्तन गरेर मात्र व्यवसायी हकहितमा लाग्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा माण्डबी गाउँपालिकाका उपाध्यक्ष पुर्ण कालाथोकी, उद्योग बाणिज्य संघ पदाधिकारी, विभिन्न व्यवसायी लगायतको उपस्थित रहेको थियो ।

कमेन्टहरु