मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

नवलपुर टुडे
२०८१ असार ३ | मध्यान्ह ०४:०३ बजे

विराटनगर, असार ३ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार भई अध्यक्षमा निर्वाचित भएका थिए । ५६ वर्षका गच्छदार चार महिनाअघि भएको राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा ब्रेन ह्यामरेज भएर लडेका थिए । त्यहाँदेखि उनी अचेत थिए । मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ ।
उनी बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।























