समाचार

बचतकर्ताको झण्डै एक अर्ब रकम हिनामिना गरेको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं, असार २ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कृषि विकास बहुद्देश्यीय सहकारी संस्थाको अर्बौं रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्षसहित ४ जनालाई सार्वजनिक गरेको छ ।

साढे २ हजार बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ परेका अध्यक्ष तेजविक्रम थापा, संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

उनीहरूविरुद्ध ५६६ जना बचतकर्ताका तर्फबाट ६५ वटा जाहेरी परेको छ । जाहेरीमा उल्लेख भएको ठगी रकम ९४ करोड २३ लाख ४२ हजार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । संस्थामा कुल २ हजार ५३१ बचतकर्ताले २ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको देखिएको प्रहरीले जनाएको छ । आकर्षक ब्याज दिने र भनेको बेलामा उपलब्ध गराउने प्रलोभन देखाई रकम जम्मा गर्न लगाएर अपचलन गरेको भन्दै उनीहरूविरुद्ध जाहेरी परेको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरमा २०८० मंसिर १९ मा जाहेरी दर्ता भई अनुसन्धान शुरू भएकोमा माघमा जिल्ला अदालत ललितपुरले पक्राउको अनुमति दिएको थियो । त्यसयता फरार रहँदै आएका अध्यक्ष थापा तथा सञ्चालक समिति सदस्यहरूलाई २०८१ जेठ ३२ गते शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापा र राजकर्णिकार पति-पत्नी हुन् । थापाविरुद्ध बैंकिङ कसुरमा झण्डै पौने ३ करोडका ५ वटा मुद्दा समेत रहेको प्रहरीले जनाएको छ । दुईवटा मुद्दामा उनीमाथि कारबाही भएको छ भने ३ वटामा उनी फरार प्रतिवादी छन् । उनीहरूको साथबाट बा २५ च ४२९६ नम्बरको इको भ्यान, ६ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान हस्ताक्षरसहितको चेकलगायत सामग्री बरामद गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कमेन्टहरु