पाल्पाको निस्दीमा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते, दुईको अवस्था गम्भीर


पाल्पा, असार २ । पाल्पाकाे निस्दी गाउँपालिका वडा नं ४ स्थित झ्याङ्लिङ कच्ची सडकखण्डमा स्कार्पियाे दुर्घटना हुँदा नाै जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
आज (आइतबार) बिहान सवा ४ बजेतिर होराईजन डेन्टल अस्पताल रामपुरबाट भिरपानीमा डेन्टल सम्बन्धि शिविरमा गई फर्किँदै गरेको बा १५ च ५९४ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
दुर्घटनामा रामपुर नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीया डोल्मा खण्डाल, २० वर्षीया अनिषा सिंह ठकुरी, २३ वर्षीया ममता श्रेष्ठ, १९ वर्षीया दिपा हिस्की मगर, ३४ वर्षीय शंकर श्रेष्ठ र चालक ३० वर्षीय मोहन अर्याल घाइते भएका छन् ।
यस्तै रामपुर नगरपालिका वडा नं ९ बस्ने २८ वर्षीया रचना राना, वडा नं ७ बस्ने २० वर्षीया सबिना राना र वडा नं ४ बस्ने १९ वर्षीया शृया रुचाल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएकाे छ ।























