आजपाले एकै दिन काठमाडौंमा छुट्टाछुट्टै मागसहित दुई वटा संघर्षका कार्यक्रम गर्दै


काठमाडौं, असार १ । आम जनता पार्टी (आजपा)ले भोली (२ असार) देखि काठमाडौंमा छुट्टाछुट्टै माग सहितका दुईवटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ ।
आजपा निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन भोली आईतबारदेखि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दैछ । उता आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि भोलीदेखि नै काठमाडौंको माईतिघर मण्डलामा धर्ना एवं प्रदर्शन कार्यक्रम गर्दैछ ।
यसैबीच आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले दुवै आन्दोलनलाई सफल बनाउँने निर्णय गरेको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए । उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए । छुट्टाछुट्टै मागसहित हुने दुवै आन्दोलनलाई सफल बनाउँन सबै एकजुट भएर लाग्नुपर्ने निर्देशन उनले दिए ।
यस अघि पनि आजपा निकटको आम सम्पर्क मञ्चले बिभिन्न माग गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा महिनौं दिनसम्म घेराउ तथा धर्ना दिएको थियो । भन्सार विभाग र आन्दोलनरत पक्षका बीचमा सहमती भएपछि सो आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
उता कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि भोलीदेखि नै माईतिघर मण्डलामा शान्तिपुर्ण धर्ना एवं प्रदर्शन गर्दैछ । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको कवाड व्यवसायीहरुले जनाएका छन् ।
माईतिघरमा धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम बनाएका कवाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।























