बाँकेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमै शव राखेर राजमार्ग अवरुद्ध


बाँके, जेठ ३२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।
गएराति करिब ९ बजेर ३५ मिनेट जाँदा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका-८ का ३६ वर्षीय लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रवक्ता डाँगीका अनुसार दुर्घटनापश्चात् टिपर चालक फरार छन् भने गाडी मालिक प्रहरीको सम्पर्क आएका छन् । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । मृतक विष्ट राप्तीसोनारी गाउँपालिका – ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव हुन् ।
पीडित पक्षले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।























