ताप्लेजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई जना घाइते


फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु र उनका जुम्ल्याहा छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो । लिम्बूले पालेका दर्जनौँ पशु चौपायासमेत मरेका छन् ।
यस्तै, खेजेनिमकै गढी डाँडा टोलका ४० वर्षीय योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त पुर्याएको वडाध्यक्ष चौलागाईले जानकारी दिए । गए राति करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति पुर्याएको हो । घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवार भागेर ज्यान बचाउन सफल भएका छन् । भाग्ने क्रममा साम्रा र उनका ३ वर्षीया छोरी घाइते भएका छन् । घाइते बाबु छोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।























