झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने तीन जना भारतीय पक्राउ


काठमाडौं, जेठ ३१ । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका – १४ बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार र उनका छोराहरु २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्ता छन् ।
उनीहरूले झुटा विवरण पेश गरेर वंशजको नेपाली नागरिकता लिने खोजेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २९ जेठमा हर्ष र ऋषिले आफूसँगै व्यापार गर्दै आएका बाबु हरिओम बेपत्ता भएको झुटो विवरण बनाउँदै भारतीय नागरिक रहेको तथ्यलाई लुकाएर वडाबाट सर्जिन मुचुल्का समेत बनाएर नेपाली वंशजको नागरिकता लिन फारम भरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेका थिए ।
उनीहरू उपर नागरिकता सम्बन्धि ऐनको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।























