देश, समाचार

पाल्पा माथागढी रहवासका विद्यार्थी पढ्दै, डोको-डालो बुन्दै

नवलपुर टुडे
२०८१ जेष्ठ ३० | मध्यान्ह ०४:०२ बजे

पाल्पा । सिद्धार्थ मावि, माथागढी गाउँपालिका–७, रहवासका कक्षा ९ का विद्यार्थी फणेश्वर घर्तीले परम्परागत डोको, अम्लिसोको कुचो र डालो बनाउन सिकेका छन् । गाउँघरमा पाइने बाँस र निगालीबाट डोको र डालो बनाउने तरिका सिकेका हुन् । पढ्दै सिक्दै गरेका उनले भने, ‘विद्यालयमा यसरी सिक्न पाउँदा निकै खुसी लागेको छ ।’ विद्यालयमै साथीभाइसँग परम्परागत सामग्री हातैले बनाउन पाएकामा उनलाई खुसी नलाग्ने कुरै भएन ।

सोही विद्यालयका कक्षा ११ का विद्यार्थी सलिना सिंह पनि कुचो बनाउने, डालो र डोको बनाउने सीप सिकेको बताइन् । अम्लिसोको कुचो, बाँसको चोयाबाट डोको, डालो बनाउन सिक्न पाउँदा निकै खुसी लागेको उनी बताउँछिन् ।

‘हामीले बुबा, बाजेले बनाएको देखेको थियौं,’ उनले भनिन्, ‘अहिले आफैंले बुन्न सिक्दा हातमा सीप भएजस्तो महसुस भएको छ ।’ विद्यार्थीले स्थानीयस्तरमा पाइने कच्चा सामग्री प्रयोग गरेर गाउँघरमा प्रायः प्रयोगमा आउने सामग्री बनाउन सिकेका हुन् । विद्यालयका सामाजिक विषयका शिक्षक अमृत अधिकारीका अनुसार कक्षा ९, १० र ११ का झण्डै ४० जना विद्यार्थीले एक सातासम्म सीप सिकेका हुन् ।

‘सामाजिक विषयको परियोजना कार्य अन्तर्गत विद्यार्थीलाई सीप सिकाइएको छ,’ उनले भने, ‘यसबाट पढ्दै गरेका विद्यार्थी स्थानीय रूपमा उपलब्ध बाँस, निगालो, अम्रिसोको सदुपयोग गर्ने भएका छन् ।’ प्लास्टिकका सामान प्रयोगमा निरुत्साहित गर्ने योजना सफल पार्न विद्यालयले विद्यार्थीलाई गाउँघरमै पाइने सामग्री प्रयोग गरेर बनाउने सामग्री निर्माणको सीप सिकाएको उनले बताए ।

विद्यार्थीको सिकाइले स्थानीयस्तरमा पाइने कच्चा पदार्थलाई सही रुपमा सदुपयोगमा ल्याउन सकिने उनले बताए । ‘घरबारीका कान्लामा हुने अम्रिसोलाई बुनेर कुचो बनाउन सिक्दा फाइदै पुग्छ,’ उनले भने, ‘यसमा विद्यार्थीको रुचि पनि देखिएको छ ।’

photo 2024 06 12 16 27 31 1

कक्षा १० की विद्यार्थी इन्द्रादेवी रानाका अनुसार गाउँमा प्लास्टिकको प्रयोग बढेकाले यसलाई घटाउन हाम्रो अभियान चल्ने छ । विद्यालयमा सिद्धार्थ र गतिशील गरी दुई वटा विद्यार्थी वातावरण समूह (इको) गठन भएको छ । सोही क्लबले विद्यालयका साथै गाउँमा प्लास्टिकजन्य सामग्रीमा कमी ल्याउन पहल गर्ने विद्यार्थी रानाले बताइन् ।

अर्कोतर्फ घरमा दैनिक रूपमा प्रयोग हुने सामग्री बनाउन सिकेकामा उनलाई खुसी नै लागेको छ । बजारमा त्यति धेरै बिक्री हुन छाडेको छ । विद्यालयले विद्यार्थीलाई स्थानीय प्रविधिमा आधारित सीप सिकाएर आत्मनिर्भर गराउने उद्देश्य लिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापाले बताए । ‘विद्यार्थीलाई गाउँघरमा पाइने कच्चा पदार्थबाट सामान निर्माण गर्ने सीपले भविष्यमा दैनिक आम्दानी गर्न सहज हुन्छ,’ उनले भने, ‘सैद्धान्तिक ज्ञानले मात्र केही नहुने अवस्था छ । त्यसैले व्यवहारिक बनाउन पनि यो सीप सहयोगी बन्ने विश्वास छ ।’

photo 2024 06 12 16 28 53

विद्यालयमा गठित इको क्लबले गाउँटोलमा प्रयोग हुने प्लास्टिकका डस्टबिनलाई हटाउने योजना बनाएको छ । विद्यार्थीले नै निर्माण गरेका टोकरी प्रयोग गर्ने अभियान सञ्चालन गर्ने प्रधानाध्यापक थापाले बताए । गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमबहादुर बारघरेका अनुसार स्थानीयस्तरमा पाइने कच्चा पदार्थको सही प्रयोगबाट निर्माण गरिएका सामग्रीलाई बजारसम्म पुर्‍याउने योजना हो । ‘यसबाट विद्यार्थीमा सीप विकास भएको छ,’ उनले भने, ‘भविष्यमा केही गरौं भन्ने अवस्थामा पनि हातको सीपले काम गर्नेछ ।’

photo 2024 06 12 16 28 56

पालिकाले पनि आधारभूत र मावि तहलाई विभिन्न सीपमूलक कार्य गर्न सघाएको छ । १७ वटा आधारभूत र माविका विद्यार्थीलाई केही न केही सीप सिकाउने गरी ४० हजार बजेट व्यवस्था रहेको माथागढी गाउँपालिकाका सूचना अधिकारी नित्यानन्द खनालले बताए । पालिकामा ४१ सामुदायिक र ४ संस्थागत गरी ४५ विद्यालय रहेको उनले बताए ।

photo 2024 06 12 16 28 59

यो समाचार पाल्पाबाट कान्तिपुर संवाददाता माधव अर्यालले लेख्नुभएको हो ।

कमेन्टहरु