देश

नविल बैंकले विनोद चौधरीलाई मात्र अर्वपति होईन । ६ हजार सेयर हाल्नेलाई पनि करोडपति बनायो ।

नवलपुर टुडे
२०७७ भदौ १६ | बिहान ०३:०५ बजे

काठमाडौं,
विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेश गरेका एकमात्र नेपाली व्यवसायी हुन् विनोद चौधरी ।

चौधरीलाई अर्बपति बनाउन सबैभन्दा ठूलो भूमिका के ले खेल्यो होला भन्ने जिज्ञासा तपाईंको मनमा आउन सक्छ । किनभने उनी फोर्ब्सको अर्बपतिको सूचिमा परेका पहिलो नेपाली व्यवसायी हुन् । जसकारण उनको चर्चा हुन स्वभाविक नै हो ।

चौधरीलाई अर्बपतिको सूचिमा पुर्याउन मूख्य भूमिका खेल्ने संस्था हो नविल बैंक । चौधरी र उनको परिवार नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो ।

अहिले नविल बैंकको बजार पुँजीकरण ८३ अर्ब ७० करोड ८६ रुपैयाँ रहेको छ ।

अब तपाईंको मनमा अर्को प्रश्न उठ्न सक्छ- चौधरीलाई अर्बपति बनाउन ठूलो भूमिका खेल्ने नविल बैंकले सर्वसाधारण लगानीकर्तालाई के दियो ? यो समाचारमा खासगरी तपाईंको मनमा उठेको यही खुल्दुली मेटाउने प्रयास गरेका छौं ।

के नविल बैंकले चौधरीलाई अर्बपति मात्रै बनायो त ? अहँ । नविलले धेरै स-साना लगानीकर्तालाई समेत करोडपति बनाएको छ ।

नविल बैंकको सेयरमा ६ हजार रुपैयाँ लगानी गरेको मान्छे आज करोडौंको मालिक भएको तथ्यांकले देखाउँछ । र, यही तथ्यांकलाई हामीले विस्तृतमा प्रस्तुत गरेका छौं ।

सन् १९८४/८५ मा स्थापना भएको बैंकले ३४ वर्षअघि प्रतिकित्ता ६० रुपैयाँका दरले साधारण सेयर (आइपिओ) निष्काशन गरेको थियो । जसअनुसार त्यो समय ६ हजार रुपैयाँ लगानी गरेर १०० कित्ता सेयर किन्ने लगानीकर्ता सेयर नबेची बसेको छ भने आज उसँग नविल बैंकको २८ हजार २ सय ६ कित्ता सेयर छ ।

अहिले नविल बैंकको प्रतिकित्ता सेयर मूल्य ८ सय ३० रुपैयाँ छ । जसअनुसार २८ हजार २ सय ६ कित्ता सेयरको मूल्य अहिले २ करोड ३४ लाख रुपैयाँ पर्छ भने उसले ४३ लाख ११ हजार रुपैयाँ बराबर नगद लाभांशबापत बुझेको देखिन्छ ।

यसरी हेर्दा ३५ वर्षको अवधिमा ६ हजार लगानी गर्ने व्यक्तिलाई नविल बैंकले २ करोड ७७ लाख रुपैयाँको मालिक बनाएको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ति ४ हजार ६ सय १६ गुणाले बढेको छ ।

राम्रो कम्पनीको सेयरमा सानो लगानी गरेर चुपचाप बस्ने हो भने सहजै करोडपति बन्न सकिन्छ भन्ने एउटा बलियो उदाहरण हो यो ।

कमेन्टहरु