त्रिशुली नदीमा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला


काठमाडौँ, जेठ २७ । त्रिशुली नदीमा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव भेटिएको छ ।
शनिबार अपराह्न ४ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशीबाट सोही ठाउँका १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइला बेपत्ता भएका थिए । आइतबार दिउँसो सवा १ बजेतिर युनिक सुवेदीको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
थापाका अनुसार नदी किनारमा उनीहरूको कपडा भेटिएको थियो । त्यो कपडा फेला परेको करिब १०/१५ मिटरनजिक करिब २० फिट गहिराइबाट युनिकको शव निकालिएको हो ।
गएराति साढे ११ बजे दुई बालक बेपत्ता भएको भन्दै सशस्त्र प्रहरीलाई खबर भएको थियो । त्यसपछि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी मदनकुमार रसाइलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । तर फेला पार्न नसकेपछि मध्यराति फर्किएको टोलीले आइतबार बिहान पुन: खोजीकार्य सुरु गरेको थियो ।
बिहान ११ बजेसम्म पनि फेला नपरेपछि कुरिनटारस्थित शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्डमा पाँच जना गोताखोर र दुई जना अन्य गरी सात जनाको टोली खटिएको थियो । सो टोलीले सवा १ बजे एक जना बालकको शव फेला पारी निकालेको हो । अर्को बालकको खोजी जारी रहेको जनाइएको छ ।























