कर्णाली नदीको झोलुंगे पुलमा फसेका ११ वटा खच्चडको जिवितै उद्धार, २ वटाको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

दैलेख, जेठ २७ । दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको जिवितै उद्धार गरिएको छ ।
८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो । नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा निकालिएको थियो ।
पुलमा फसेका दुइटा खच्चडको भने मृत्यु भएको छ । एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मृत्यु भएको हो ।
आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए ।























