समाचार

कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा खुट्टा अड्केर १३ खच्चर फस्यो

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | बिहान ११:०२ बजे

दैलेख, जेठ २७ । दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन् ।

आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले बताए ।

स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ । उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको उनले बताए । खच्चरहरू अहिले रक्ताम्य भइसकेको र उद्दार गरे पनि कतिपय खच्चर बाँच्ने सम्भावना नरहेको उनले बताए ।

दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन् । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको उनले बताए ।

कमेन्टहरु