चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न


काठमाडौं, जेठ २६ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ ।
देशभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर देशकै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।
हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आन्तरिक रूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।
आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकाका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीय रूपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगन्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाहगरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्नथप सहज हुने छ, सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्ने छ ।’
हेटौँडा सवस्टेसनलाई आवश्यकता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रम अन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटाैँडा, ढल्केबर इनरुवा ४०० के.भी. सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो ।आयोजना अन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।
हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गरिएको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०-१३२-११ केभी हेटौडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८मा ठेक्का सम्झौता भएको थियो ।४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीको कारणले सवस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केहि ढिलाइ भएको थियो ।























