नगरपालिकामा तोडफोड गरि नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना विद्यार्थी पक्राउ


मोरङ, जेठ २५ । मोरङको रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षका दीपक यादव, २० वर्षका राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विवेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् ।
बिहीबार अपरान्ह पौने चार बजे नगरपालिका पुगेको उनीहरुको समूहले नगरपालिका तोडफोड गरेको, नगर प्रहरीमाथि आक्रमण गरेको आरोप छ ।उनीहरूलाई शुक्रबार पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
निजी विद्यालयहरूले मनपरी शुल्क असुलेको विषयमा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरूले त्यहाँ तोडफोड गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रहरी भनाइ छ ।
विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको आरोप छ ।
नगरका निजी विद्यालयहरुले मनपरी शुल्क लिँदा पनि नगरपालिका रमिते भएको भन्दै विद्यार्थीहरुले जेठ १३ मा नगरलाई ज्ञापन पत्र बुझाएका थिए । तर, अहिलेसम्म नगरले कुनै एक्सन नलिएको विद्यार्थी समूहले बयान दिएको प्रहरी भनाइ छ ।
उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाएको प्रहरीले जनाएको छ ।























