रुकुम पश्चिममा भिरबाट लडेर एक शिक्षकको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

रुकुम, जेठ २४ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए । खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लड्न पुगेका थिए ।
भीरबाट लडेर गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरी दिएका थिए ।
खड्का स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्केका सहायक प्रधानाध्यापकसमेत थिए ।























