दार्चुलाबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते


दार्चुला, जेठ २३ । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडर नजिकै दुर्घटना हुँदा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ ।
धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जय कुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक वासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिस पार्की र निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन् ।
यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।
घाइते ७ जनामध्ये ३ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको वरिष्ठ प्रहरी नायव निरीक्षक मल्लले बताए ।























