नवलपुरमा विद्यार्थी छोडेर फर्केको भ्यानमा आगलागी, चालक घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०८:०२ बजे

नवलपुर, जेठ १६ । नवलपुरको कावासोती नगरपालिका – ३ अठ्ठाइस बिगाको भित्री सडकखण्डमा स्कूल भ्यानमा आगलागी भएको छ ।
कावासोती नगरपालिका -५ पाँचकठ्ठामा रहेको लर्ड बुद्व बोर्डिङ स्कूलको बा७च ५९९३ नम्बरको भ्यान मन्टेश्वरी कक्षाको १२ जना विद्यार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अड्किन गई घर्षण हुँदा आगलगी भएको हो ।
उक्त आगो निभाउने क्रममा भ्यान चालक कावासोती नगरपालिका – १० मगरकोट बस्ने वर्ष २८ को रोहित महतोको दुबै हात जलेको छ । महतोलाई उपचारका लागि स्थानीय मेडिकल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।
भ्यानमा विद्यार्थी नभएकाले अन्य मानवीय क्षति भएको छैन । तर, भ्यान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।























