विद्युत प्राधिकरणका कर्मचारीमाथी हातपात प्रयास


नवलपरासी, जेठ १६ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई विद्युत प्राधिकरणका कर्मचारीमाथी अपशब्द बोल्दै हातपातको प्रयास गरेको आरोप लगाएका छन ।
मंगलबार १७औं गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति नवलपरासी (ब.सु.प.) द्वारा आयोजित प्रभातफेरी कार्यक्रमको समापन पश्चात रामग्राम नगरपालिकास्थित बुद्ध चोकमा अध्यक्ष यादवले विद्युत प्राधिकरणका कर्मचारीमाथी हातपात गर्ने प्रयास गरेको आरोप लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायत राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममै पालिका अध्यक्षले गुन्डागर्दी शैलीमा यस्तो गतिविधि गरेको विद्युत प्राधिकरणमा आबद्ध युनियनहरुले आरोप लगाएका हुन् । उनको यस कार्यप्रति परासी वितरण केन्द्रमा क्रियाशिल सबै ट्रेड युनियनहरुले संयुक्त विज्ञप्तिमार्फत घोर भत्सर्ना गर्दै खेद प्रकट गरेका छन् ।

अध्यक्ष यादवले सुर्यपुरा उपवितरण केन्द्रमा कार्यरत कर्मचारी र कार्यालय तुरुन्तै नहटाए त्यहाँ कार्यरत कर्मचारीहरुको ज्यानसमेत तलमाथि हुन सक्ने धम्कीसमेत दिइएको विज्ञप्तीमा जनाइएको छ । त्यहाँ कार्यरत कर्मचारीमाथि कुनै किसिमको अभद्र र अप्रिय घटना घटेमा स्वंयम गाउँपालिका अध्यक्ष नै जिम्मेवार रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै कर्मचारीको जिउ ज्यान र कार्यालयको सुरक्षाको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको ट्रेड युनियनले जनाएको छ ।
पालिका अध्यक्षद्वारा पत्रकार सम्मेलनको आयोजना
त्यस्तै, गाउँपालिका अध्यक्ष यादवले मंगलबार साझ सामाजिक संजाल फेसबुकमा विद्युत प्राधिकरणका केही कर्मचारीहरुको ज्यादतीले आम जनताले भोग्दै आएको पीडा र बिभेदकारी नितिले दुख पाईरहेको जनाएको छ ।
अध्यक्ष यादवले विद्युत प्राधिकरणको कारणले पालिकाले गरेको जनमुखि बिकास निर्माणका कामहरुमा बाधा उत्पन्न गर्ने गराउने र सर्व साधारण जनतालाई कृषि मीटर प्राप्ति लगायत तमाम सरोकारको कामहरुमा अत्याधिक दुख दिने र कृषि बिधुतिकरण कार्यक्रमको करोडौं रकम फ्रीज गराउने जस्ता घृणित कार्य गर्ने कर्मचारीहरुलाई फुल को मालाले स्वागत गर्नुपर्ने हो र ? भन्ने प्रश्न गरेको छन ।
यसबारे सम्बन्धित निकायहरुमा जानकारी गराई सकेको भएपनि प्राधिकरणले समस्या समाधान भन्दा पनि स्थानीय सेवाग्राहीलाई दुख लिईरहेको बताउदै बुधबार (आज) दिनको ३ बजे पत्रकार सम्मेलन मार्फत थप प्रमाणहसहित आवश्यक जानकारी गराउने जनाएको छ ।
























