सन्दीप लामिछानेको भिसाको काम आज पनि अघि बढेन


काठमाडौँ, जेठ १४ । क्रिकेटर सन्दीप लामिछानेको भिसाको काम आज पनि अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ मनाइएको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ ।
आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका हुन् । तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप गुमाउने खतरा झन् झन् बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।
फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल प्राप्त भएको थियो । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरूले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् ।























