सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’


चितवन,बैशाख २९ । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए । ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं । सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य कुरा खुल्ला,’ रिजालले भने ।
मृतक महतो स्थानीय सनराइज सहकारीका कर्मचारी थिए । बरौजीका गौरीराम महतोका दुईमध्ये कान्छो छोरा थिए, निर्मल । बाबु पटिहानी क्षेत्रमा नाम चलेका क्याटरिङ व्यवसायी भए पनि निर्मल भने सहकारीका जागिरे थिए । गौरीरामले दुखेसो पोखे, ‘बाहिर जागिर खानुपर्ने थिएन । तर चिनजानका मान्छेले सहकारीमा राम्रो कमाइ हुन्छ भनेपछि उता लाग्यो ।’
२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए । सहकारी समस्यामा परेसँगै बचतकर्ताहरू आन्दोलित हुन थालेपछि उनी चिन्तामा थिए । किनकि उनले बुबाको चिनजान भजाएर धेरैलाई सहकारीको बचतकर्ता बनाएका थिए । सहकारी डुबेपछि निर्मलले क्याटरिङको काममा बुबालाई सघाउँदै आएका थिए । तर सहकारीको बचत रकमबारे सोधखोज गर्दै पटकपटक विभिन्न व्यक्तिहरू घरमै आउन थालेपछि निर्मल थप तनावमा परे । रमेशकुमार पौडेल /कान्तिपुर दैनिक























