ललितपुरको बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख २३ | मध्यान्ह १२:०१ बजे

काठमाडौं, वैशाख २३ । ललितपुरमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान १० बजेतिर टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ । आगलागी नियन्त्रणमा आउने क्रममा रहेको एसपी सुवेदीले बताए ।
घाइते हुनेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ । एसपी सुवेदीका अनुसार तीन जना बालबालिकाको अवस्था गम्भीर छ ।























