रौतहटमा आगलागीबाट यस वर्ष ४ करोड ५८ लाख बराबरको क्षति

अशोक यादव
२०८१ बैशाख २२ | मध्यान्ह ०७:०१ बजे

रौतहट, वैशाख २२ । यस वर्ष आगलागीबाट रौतहट जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । रौतहट जिल्लामा मात्र यस वर्ष ४ करोड ५८ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय तहहरूले आगो नियन्त्रणका लागि बारुण यन्त्र किन्ने तर्फ ध्यान नदिएका कारण आगो नियन्त्रणमा आउन नसक्दा रौतहट जिल्लामा डेढ महिनाको अवधिमा करिब ५ करोडको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट सर्वसाधारणको घरगोठ र अन्नपात जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।
यस वर्षको गर्मीयाम सुरु भए यता मधेस प्रदेशका आठ जिल्लामा ४६ करोड बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।























