लुम्बिनी प्रदेश

सुस्ताको विरोध गर्दा मलाई जेल कोच्नेहरूले राष्ट्रियताको कुरा गर्दैछन्: ओली

नवलपुर टुडे
२०८१ बैशाख २१ | मध्यान्ह ०५:०१ बजे

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेप मुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको बताएका छन् । विदेशी हस्तक्षेप हुन नदिने कुरामा सबै एकजुट हुनुपर्ने उनले बताए । शुक्रबार नेकपा एमाले पश्चिम नवलपरासीको ९ औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशलाई निर्णायक तहबाट विकास गर्नु पर्ने उल्लेख गर्दै बाह्य शक्तिबाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताए ।

अहिले नेकपा एमाले सरकारमा रहे पनि देशको निर्णायक तहमा नरहेको बताउँदै उनले मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने दाबी गरे । ‘२०७४ सालको निर्वाचनमा नेकपा एमाले करिब दुई तिहाइ नजिक पुगेको थियो तर केही पुरानै नेतृत्वको विवेकहीनले पार्टी फुटको संघारमा पुग्यो’, ओलीले भने ।

देशको सीमा रक्षा,स्वाधीनता र अखण्डताका निम्ति नेकपा एमाले विगत देखि नै एक्लो रूपमा उभिँदै आएकाले मिसन ८४ नै निर्णायक हुने अध्यक्ष ओलीले बताए। अध्यक्ष ओलीले आज बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गरे ।

‘तत्कालीन शासकले सीमा रक्षा,स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो। तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौँ’, उनले भने । अध्यक्ष ओलीले पार्टीमा गरेको योगदान र कार्यक्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाउँदै उनले तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको बताए ।

ओलीले सुस्ता र रामग्राम स्तूपको समेत अवलोकन गरेका थिए । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले अध्यक्ष ओलीलाई रामग्राम स्तूपका बारेमा जानकारी गराउँदै यसको विकासमा पहल गरिदिन आग्रह गरेका थिए ।

कमेन्टहरु