अपराध, मधेश प्रदेश

पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वर्ल्डको ठगी धन्दा उत्कर्षमा पुगेको आरोप

रंजित चौरसिया
२०८१ बैशाख १८ | मध्यान्ह ०८:०१ बजे

वीरगंज, वैशाख १८ । पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडको ठगी धन्दा उत्कर्षमा पुगेको आरोप लाग्न थालेको छ । वीरगंजको भिस्वा त्रिशुल चौक नजिकै रहेको अभियानको कार्यालयले वर्षौ दिनदेखि गर्दै आएको ठगी धन्दा नरोकेपछि प्रहरी प्रशासनको नै संरक्षण रहेको पुष्टि हुँदै गएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल मधेशमा आएको दुई दिन पछाडि अभियानको ठगी धन्दाबारे जानकारी गराउँदा उनले पर्साका क्राईम ब्रान्चका बरिष्ठ सई रमेश बजगाईको नम्बर दिएर वहाँ सँग सम्पर्क गर्न भनेका थिए । बरिष्ठ सई बजगाई सँग करिब दुई महिनाको अन्तरालमा पटक–पटक सम्पर्क गर्दा नआतिनुस ठगी गर्नेहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउदै आए पनि हालसम्म अभियानको ठगी धन्दा सुचारु नै रहेको कारण प्रहरी प्रशासनको संरक्षणमा नै भईरहेको सचेत नागरिकहरुको बुझाई रहेको छ । होईन भने, गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउन किन ढिलाई भएको हो ?

अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले किस्ताबन्दीको नाममा ग्राहक ठग्दै गरेको समाचार दर्जनौं सञ्चारमाध्यमहरुमा प्रकाशन भए पनि स्थानीय प्रहरी प्रशासनले कारवाही गर्नुको सट्टा संरक्षण दिईरहेकोमा आमनागरिक आश्चर्यचकित भएका छन् ।

पाठकवृन्द, किस्ताबन्दीमा सामग्रीहरु उपलब्ध गराउनुको मतलब ग्राहकलाई पहिला सामान दिनु पर्छ र सो ग्राहकसँग सामान वापतको रकम किस्ताबन्दीमा उठाउनु पर्छ । तर अभियानका मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले र सहायक सञ्चालकहरु वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताले ग्राहक कार्ड छपाएर प्रत्येक ग्राहकसँग मासिक ११ सय ७५ रुपैया असुल्दै मासिकै पिच्छे गोप्य ठाउँमा चिठा खोल्ने गरेका छन् ।

No description available.

चिठा खोल्ने काम युट्युब मार्फत हुन्छ, त्यसमा जो ग्राहक छ त्यसैलाई मात्र सो युट्युबमा जोडिएको ग्राहकहरु नै बताउँदछन् । नेपालमा चिठा खोल्ने कार्य कानुन विपरितका काम हुन् । महिनै पिच्छे किस्ताबन्दीमा रकम असुल्दै चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई अभियानले ठगी गर्दै आएको प्रष्टै देखिन्छ । अभियानले अभियान नामक टिभी एसेम्बल गरी उत्पादन गर्ने उदेश्यले कम्पनिको रजिष्टारबाट काठमाडौं–१३ मा गर्ने अनुमति लिएको हो ।

अभियानका सञ्चालकहरुले मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया असुल्ने गरेका छन् भने २४ औं किस्तासम्म चल्ने गोलाप्रथाद्धारा सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय असुल्ने लक्ष्य राखेको जानकारहरु बताउँछन् ।

यस सन्दर्भमा अभियानका सञ्चालक विष्णु प्रसाद काफ्लेले आफुहरु चिठा नखेलाई आफ्नो सदस्यहरु बीच लक्की ड्र गराएको दाबी गर्दै आएका छन् ।
चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।

३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।

तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।

कमेन्टहरु