लुम्बिनी प्रदेश

रुपन्देहीमा बजारमा शिथिलता देखिएपछि निराश उद्योगी-व्यवसायीकालागि बिक्री बढाउने प्रशिक्षण

नवलपुर टुडे
२०८१ बैशाख १६ | बिहान ११:०१ बजे

भैरहवा । विभिन्न कारण बजारमा शिथिलता देखिएपछि निराश रुपन्देहीका उद्योगी–व्यवसायीलाई उत्साहित तुल्याउन बिक्री बढाउने उपाय बारे प्रशिक्षण प्रदान गरिएको छ । यहाँस्थित जिनियस बिजलाइफ र आइडिया फयूजनले यस्तो प्रशिक्षण आयोजना गरेका हुन् । 

भारतको नयाँदिल्लीस्थित विकसित भारत लिडर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) परितोष शर्माले बिक्री बढाउने नयाँ तरिकाबारे प्रशिक्षण दिएका थिए । टाइगर प्यालेस रिर्सोटमा शनिबार आयोजित कार्यक्रममा जिल्लाका नयाँ–पुरानो पुस्ताका गरेर एक सय ५० भन्दा बढी लगानीकर्ता सहभागी भएका थिए ।

बजारमा देखिएको आर्थिक मन्दिका कारण उत्पादनको बिक्री घटेपछि जिल्लाका लगानीकर्ता निराश छन् । यस्तोबेला बिक्री बढाउने नयाँ अभ्यासबारे बहस गरिएको हो । कार्यक्रममा सहभागी वरिष्ठ उद्योगी राजेशकुमार अग्रवालले कुनैपनि कम्पनीको सेल्ट टिमले यतिबेला सबैभन्दा धेरै चुनौती बेहोर्नु परिरहेका बेला आयोजित कार्यक्रमले कर्मचारीको मनोबल बढाउन मद्दत पुग्ने बताए ।

‘कोरोना महामारी र त्यसपछि उत्पन्न आर्थिक मन्दिका कारण सबैभन्दा च्यालेन्ज फेस गरेको भनेकै सेल्स समुहले हो,’उनले भने, ‘युवा जति बिदेश गइरहेको परिवेशमा मुलुकमा उपभोक्ताकै अभाव छ, यस्तो बेला उत्पादन कसलाई बिक्री गर्नेभन्ने चुनौंती थपिएको छ ।’ विभिन्न कारणले मुलुकमा निराश हावी भएका बेला आयोजित प्रशिक्षणले सेल्स टिमलाई नयाँ तरिका अपनाएर व्यापार बढाउन सघाउने उनले बताए ।

प्रशिक्षक शर्माले आफूले मोटिभेसनल कक्षा भन्दा बिक्री बढाउन आवश्यक बुँदागत जानकारी दिने भएकाले प्रशिक्षण फलदायी भएको बताए । कुनैपनि व्यापार बृद्धिका लागि उपयुक्त मेन्टर जरुरी पर्ने र त्यसका लागि व्यवसायिक प्रतिष्ठानमा एउटा प्रणालीको बिकास गरिनुपर्नेमा जोड दिए ।

‘एउटा लक्षसहित उपयुक्त निर्णय गर्न सक्नुपर्छ,’उनले भने, ‘त्यसका लागि आवश्यक भनेको प्रणाली र प्रक्रिया हो ।’ बिक्री बढाउन उपभोक्ताको विश्वास जित्न जरुरी रहेको उनले बताए । ‘पैसाको हिसाब–किताबभन्दा कसरी उपभोक्ताको विश्वास जित्ने भन्नेमा ध्यान दिनुपर्छ,’उनले भने, ‘त्यसका लागि आफू कहाँ छु, कहाँ पुग्ने हो र कसरी पुग्ने हो भन्ने निर्धारण गर्नुपर्छ ।’

आयोजक संस्थाका कृष्ण साहले तीन वर्षको प्रयासपछि जिल्लाका प्रतिष्ठित उद्योगी–व्यापारीलाई एकैथलोमा जुटाउन सफल भएको बताए । ‘कार्यक्रमको उद्देश्य बताएपछि जिल्लाका ठूला उद्योगीले नै आयोजनाका लागि उत्साह थपिदिनु भयो,’उनले भने, ‘जसले गर्दा आज अन्तराष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गर्न सफल भयौं ।’

कमेन्टहरु