गण्डकी प्रदेश

नवलपुरको मध्यविन्दुको सुर्खा जंगलमा लागेको आगो गाउँमा पस्दा १२ वटा घर गोठ जलेर नष्ट, एक जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख १० | मध्यान्ह ०९:०१ बजे

नवलपुर, वैशाख १० । नवलपुरको मध्यविन्दु नगरपालिका – १४ चनौटे र सुर्खास्थित रहेको सुर्खा जंगलमा लागेको आगो गाउँमा पस्दा ४ वटा घर र ८ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने उक्त आगलागीमा १ जना घाइते भएका छन् ।

घाइते हुनेमा देवचुली नगरपालिका – १३ प्रगतिनगर घर भई मध्यविन्दु नगरपालिका – १४ चनौटेस्थित रहेको श्री ज्ञानज्योती प्रा.वि.का शिक्षक ५९ वर्षीय गंगा प्रसाद घिमिरे छन् । घिमिरेको आगो निभाउने क्रममा दुवै हातमा चोट लागेको छ । उनको अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था अहिले सामान्य रहेको प्रहरी जनाएको छ ।

आज दिउँसो २ बजेतिर सुर्खा जंगलमा अचानक लागेको आगो गाउँमा पस्दा स्थानीय नवल सिंह ढेंगाको ढुङगा माटो र टिनले छाएको दुईतले कच्चीघर, गोठ, सुंगुरको खोर, लत्ताकपडा भाडावर्तन र नगद रु १ लाख ६० हजार पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै, सोही ठाउँका भोगीराम ढेगांको ढुङगा माटो र टिनले छाएको दुइतले घर, गोठ, सुंगुरको खोर, लत्ताकपडा भाडावर्तन, ४ वटा कुखुरा जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

चनौटेकै टेक बहादुर क्षेत्री, कर्म सिहं सोमै र श्रीलाल सोमैको ढुङगा माटो र टिनले छाएको घर, गोठ, सुंगुरको खोर, लत्ताकपडा भाडावर्तन तीनवटा बाख्रा र भान्सा घर पूर्णरुपमा जलि नष्ट भएको छ भने खेम बहादुर बारघरे र हस्त बहादुर ढेगांको बाख्रा गोठ, लत्ताकपडा अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिका – १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडा अन्नपात, थेबेल सिंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

दिउँसो २ बजेदेखि लागेको आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको नवलपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

कमेन्टहरु