नवलपुरमा घर नजिकैको धारामा नुहाउन गएका दिदी मृत फेला, बहिनी बेपत्ता


नवलपुर, वैशाख १० । नवलपुरको बौदीकाली गाउँपालिका वडा नं ३ थोत्रेनीमा घर नजिकैको धारामा नुहाउन गएका दिदिबहिनीमध्ये दिदि मृत फेला परेकी छिन् भने बहिनी बेपत्ता भएकी छिन् ।
शनिबार दिउँसो करिब १ बजेको समयमा स्थानीय रेवत सारुको छोरीहरु १७ वर्षीया लक्ष्मी सारु र १४ वर्षीया नरिना सारु घर नजिकैको धारामा नुहाउन गएका थिए । तर, आईतबार बिहानसम्म उनीहरू सम्पर्क नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएकै अवस्थामा रहेको र नजिकै कालीगण्डकी नदि किनारमा दुवै दिदीबहिनीको चप्पल साथै ३० रुपैयाँ पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको थियो ।
चप्पल र पैसा फेला परेको स्थानदेखि २/३ सय मिटर पुर्व तर्फ नदिको किनारमा दिदि लक्ष्मी मृत अवस्थामा फेला परेकी थिइन् । बहिनी नरिना भने अझै बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।























