पाँचथरमा जीप दुर्घटना : १४ जना घाइते, ९ जनाको अवस्था गम्भिर


पाँचथर, वैशाख ९ । पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
पाथिभारा मन्दिरको दर्शन गरी फर्कने क्रममा मे १ ज १९४७ टाटाको सुमो आइतबार बिहान १०:३० बजेको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । कुश्वाहाका अनुसार दुर्घटनामा एकै परिवारका १३ सहित एक चालक गरी १४ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा उदयपुरको त्रियुगा घर भएका जीप चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइली रहेका छन् ।
उनीहरूको तत्काल उद्धार गरी उपचारका पाँचथर अस्पताल लगिएको र ती मध्ये ९ जना गम्भिर घाइतेकाे त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल झापा रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी पाँच जनाकाे जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेकाे छ ।
जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जीप सडकदेखि ५० मिटर तल खसेको थियाे ।























