जसपाबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्री अहिरले दिए राजीनामा


बुटवल, वैशाख ९ । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले शनिबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबिच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भएपनि समर्थन भने कायम रहने उनले बताए ।
गएको चैत २२ गते सत्तासाझेदार दलहरुबीच जनता समाजवादी पार्टीलाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय दिनेगरी सहमति भएको थियो ।
उक्त सहमतिमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं मुख्यमन्त्री जोख बहादुर महरा, एमाले संसदीय दलका नेता लिला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकिकृत समाजवादीका संसदीय दलका नेता भगवती अधिकारी र नवलपरासीबाट जितेका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए ।























