गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति मेसिन सहित पक्राउ


भक्तपुर । कोभिड-१९ महामारीका कारण आम सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाईजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै केहि सेनिटाइजर कम्पनीहरुले मानव स्वास्थ्य माथि प्रतिकुल असर पार्ने गुणस्तरहिन र कमसल सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा “नेपालय ह्याण्ड सेनिटाईजर” नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएको छ ।
उक्त सेनिटाईजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन ६८% भेटिएको तथा उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी देखिएको भन्ने व्यहोराको औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भएको छ ।
सोही सुचना पश्चात् महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं. १ लोकन्थलीमा सामाखुसी बस्ने सुजन दाहालले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता समेत नगरी Manufactured by: Medigraph Group of Company Pvt . Ltd . Lokanthali Ward no. 1, Bhaktapur नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाईजर सहित उक्त सेनिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरिएको ।
साथै उक्त सेनिटाइजर उत्पादक कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थली भक्तपुरमा कार्यरत जिल्ला रामेछाप सुनापति गा.पा. वडा नं. १ गुन्सी भदौरे घर भई का.जि. नयाँ बानेश्वर बस्ने बर्ष २२ को सुजन गौतम र जिल्ला बझाङ केदारस्यूं गा.पा. वडा नं. ८ भण्डार घर भई हाल का.जि. कोटेश्वर बस्ने वर्ष २८ को चन्द्र प्रसाद जोशी लाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।
सोही कम्पनीका सञ्चालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहाल फरार रहेकोमा निजको खोजतलास गर्ने र थप अनुसन्धान कार्य भइरहेको । बरामद सेनिटाईजर, मेसिन र नियन्त्रणमा लिइएका मानिसहरुलाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत आवाश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाईएको सम्बद्ध श्राेतले जानकारी दिए।























