ललितपुरको भिरबाट स्कुटर खस्यो, चालकको अवस्था अज्ञात


ललितपुर, वैशाख ६ । ललितपुरको बागमती गाउँपालिका – ३ स्थित झाँक्री डाँडाको भिरबाट एक स्कुटरसहित चालक खसेका छन् ।
बिहीबार मध्याह्न १२ बजेतिर झाँक्री डाँडाको भिरबाट बागमती प्रदेश ०२-०४२ प ७९२६ नम्बरको स्कुटर खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार स्कुटर सडकबाट करिब ३०० मिटर तल खसेको छ । चालक भने अझै २००/३०० मिटर तल खसेको उनले बताए ।
भिरमा प्रहरीले सवारी चालकको ब्लुबुक फेला पारेको छ । ब्लुबुकमा उल्लेख गरिएको ठेगाना अनुसार उक्त सवारीका चालक रामेछापको सुनापति गाउँपालिका वडा नम्बर १ का रोहित गौतम छन् । सवारी चालकको स्वास्थ्य अवस्था पनि अज्ञात रहेको एसपी सुवेदीले बताए ।
स्कुटर अनियन्त्रित भएर भिरबाट खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले प्रहरी र स्थानीय मिलेर डोरी राखेर उद्धारको प्रयास भइरहेको छ ।























