गण्डकी प्रदेश, समाज

एसइईपछि सिप सिक्दै बुलिङटार अर्खलाका असिम सुस्लिङ मगर

नवलपुर टुडे
२०८१ बैशाख २ | बिहान ०८:०१ बजे

कावासोती, वैशाख २ । बुलिङटार गाउँपालिका– ४ का १६ वर्षीय असिम सुस्लिङ मगरले एसइईको परीक्षा सकेर नतिजा नआउँदासम्म सिप सिक्न लाग्नुभएको छ । उहाँले बाँसको चोयाबाट डोको, नाम्लो, डाला, सुपो, ढकिया बनाउने सिप सिक्न व्यस्त हुनुहुन्छ । उहाँ यस्तो सिपले गाउँमै राम्रो आम्दानी गर्न सकिने, स्वरोजगार बन्न सकिने भएकाले सिप सिक्न लाग्नुभएको हो ।

बुलिङटार–४, अर्खलास्थित सेतीनाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर सुस्लिङ मगर यो पेसा व्यवसायबाट गाउँमै धेरै राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ । असिम सुस्लिङ मगरले बाँसको चोयाबाट बनाएका सामानको माग गाउँ र सहर सबैतिर रहेको छ । यो सिप सिकेर भविष्यमा यही पेसा अँगाल्न नसके पनि फुर्सदको समयमा सामग्री बनाउन सकिने भएकाले आफूले घरकै जेठो बुवासँग सिकिरहेको बताउनुभयो । 

उहाँले एक हप्तामा २० वटा डोको बुुनेर १६ हजार रुपियाँ कमाएको बताउनुभयो । एसइईको नतिजा आउन तीन महिना कुर्नु परेकाले फुर्सदको समयमा ब्रिज कोर्ससँगै बाँसबाट विभिन्न सामान बनाउने गरी सिप सिकेको र यसलाई अरू अरू ठाउँमा समेत सिक्न प्रेरित गरेको असिमले बताउनुभयो । घरकै ठुलो बुवाको वर्षौंदेखिको सिपले पनि यो सिक्न उत्प्रेरित गरेको र चार/पाँच दिनमा सजिलै सिकेर चोयाबाट डोको, डाला, सुपोलगायत धेरै प्रकारका सामान बनाउन सक्षम भएको असिम बताउनुहुन्छ ।

बाँस काटेर चोया बनाएर डोको, सुपो, डालालगायतका सामग्री बनाउन सहज हुने गरेको र घरै बसीबसी यो काम गर्न सकिने असिम बताउनुहुन्छ । यो पेसा गरेका गाउँमा धेरै भेटिन्छन् । अर्खलाका वडाध्यक्ष मीनबहादुर आलेमगर यसबाट मनग्ये आम्दानीसमेत हुने भएकाले पनि यसलाई पेसाका रूपमा अँगाल्नेको कमी नभएको बताउनुहुन्छ । पालिकाले समेत रकम विनियोजन गरेर यस्ता सिप सिक्नेलाई आवश्यक सहयोग गर्ने गरेको वडाध्यक्ष आलेमगरले बताउनुभयो । 

कमेन्टहरु