बर्दघाट सुस्तापूर्व अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै


- नवलपुर जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ ।
मध्यविन्दु नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए।
“चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा पछिल्लो दुई÷तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।”
जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
“धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ”, उनले भने “जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।”
जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीले बताए। जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उनले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताए । ,























