बहु प्रतिभाशाली महाकवि गिरिजा प्रसाद जोशीको जीवनी

नवलपुर टुडे
२०८० चैत्र २८ | मध्यान्ह ०२:१२ बजे

डा. बाल गोपाल श्रेष्ठ
नेपालभाषाका एकजना सशक्त कवि गिरिजाप्रसाद जोशी ४९ वर्षको उमेरमा वि.सं. २०४४ भाद्र २२ गतेको राती ९:३० बजे टिचिङ अस्पतालमा अल्पायुमै देहावसान भयो । उहाँको निधनले नेपालभाषाको मात्र नभई नेपालको भाषा, साहित्य जगतको निम्ति अपूरणीय क्षति भएको छ । यस लेखमा उहाँको सामान्य परिचय दिने हेतुले उहाँको जीवनी उजागर गर्ने य्रयास गरेको छु ।
पेशा र परिवार :
कवि गिरिजाको जन्म वि.सं. १९९५ साल चैत्र महिनामा साँखुमा भएको हो । २०१३ सालमा उहाँले एसएलसी पास गर्नुभयो । २०२६ सालमा पुग्दा आई.ए. अनि २०३२ सालभित्र बी.ए.बी.एड. गर्नुभयो । ‘जीवनमा आफूले अनुभव गरेर सृजना गरिने साहित्य नै उच्चस्तरको हुन्छ’ भनेर समय समयमा भन्नुहुने उहाँले आफ्नो जीवनमा अनेक पेशा अपनाउनुभयो ।२०१३ सालतिर उहाँले पिपामा जागिर खानुभयो । त्यसपछि नै तक्सारमा खरदार हुनुभयो । २०१७ सालमा रोड ट्रान्सपोर्ट अर्गनाइजेशनमा नोकरी गरी हेटौंडामा निकै वर्ष बस्नुभयो । जेसुकै काम गरेर भए पनि जहाँ गए पनि आफ्नो मातृभाषाको सेवा गर्ने काममा भने उहाँ कहिल्यै पछि पर्नु भएन । हेटौडामा पनि उहाँले नेपालभाषा क्षेत्र उज्वल पार्न त्यहाँका मानिसहरूलाई सचेत तुल्याउनु भयो ।
यसरी समय समयमा विभिन्न पेशामा संलग्न भए पनि उहाँको जीवनको धेरै समय शिक्षण पेशामै बित्यो । भाग्योदय माध्यमिक विद्यालय, प्राइमरी स्कुल भएकै बेलामा उहाँ शिक्षक हुनुभयो । २०२४ सालतिर आनन्द कुुटी बोर्डिङ स्कुलमा शिक्षक हुनुभयो । त्यसपछि बालकुमारी मा.बि., शान्ति शिक्षा मन्दिरमा पनि पढाउनुभयो । २०१५ सालतिर साँखुमा भाग्योदय मा.बि.मा शिक्षक भएर जानु भएपछि उहाँ जीवनभरि नै शिक्षक पेशामा लाग्नुभयो । २०३८ सालसम्म उहाँले भाग्योदय माध्यमिक विद्यालयमै अंग्रेजी र नेपालभाषा शिक्षकको रूपमा सेवा गर्नुभयो । २०३८ सालमा उहाँ विविध कारणले भद्रवासको आदर्श माध्यमिक विद्यालयमा जानुभयो । त्यसपछि २०४० सालमा चुगाउँ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा हेडमास्टर भएर जानुभयो । हेडमास्टर हुँदा नै येँयापुन्ही (११०७ यंलाथ्व १५) सेप्टेम्बर ७, ई.सं. १९८७ मा उहाँ बित्नुभयो ।
२०१७ सालमा उहाँको विवाह माया श्रेष्ठसँग भएको थियो । उहाँका दुई छोराहरू कुञ्ज जोशी र यचु जोशी अनि दुईवटी छोरी अमृत लक्ष्मी जोशी व सुविस्ता जोशी छन् ।
व्यक्तित्व :
(क) साहित्य संगीत र कला :
नेपालभाषा क्षेत्रमा उहाँको सृजना वि.सं. २०१३ साल भन्दा पहिला नै भएको देखिन्छ । २०१३ सालमा त्रिचन्द्र कलेजमा भएको साहित्य सम्मेलनमा उहाँले सर्वोत्तम पुरस्कार प्राप्त गर्नुभयो । त्यसपछि पनि उहाँले विभिन्न ठाउँमा पुरस्कार प्राप्त गर्नु भएको थियो । साँखुमा डबली नाटक क्षेत्रमा उहाँले बर्षेनी जस्तो नाटक लेखेर, नाटक सिकाएर, गीत लेखेर, गीत गाएर अभिनय गरेर ठूलो योगदान दियो । २०१८ सालमा चिराग पुस्तकालयको स्थापना, २०३२ सालमा जयबली क्लब स्थापना गर्नमा उहाँको भूमिका स्मरणयोग्य देखिन्छ ।
हेटौंडामा रहँदा त्यहाँ नेपालभाषा ग्रुप स्थापना गर्ने, नेपालभाषाका विभिन्न गतिविधि संचालन गर्ने साथै हस्तलिखित पत्रिका प्रकाशन गर्ने र ‘गथु’ रजिष्टर पत्रिका प्रकाशित गर्नमा पनि उहाँको हात रहेको थियो ।
भाग्योदय हाइस्कुलमा शिक्षक भएर आएपछि उहाँले साँखुमा नयाँ प्रतिभाहरू हुर्काउन आफ्नो समय क्षमता, जाँगर र जोश सम्पूर्ण प्रयोग गर्नुभयो । भाग्योदय स्कुलमा उहाँले विद्यार्थीहरूको चेतना स्तर बढाउने उद्देश्यले समय समयमा कार्यक्रमहरू प्रस्तुत गरिरहनु भयो । कहिले साहित्य सम्मेलन, कहिले वादविवाद, कहिले वक्तृत्वकला प्रतियोगिता आदि । ती कार्यक्रमबाट विद्यार्थीहरूमा उत्साह, उमंग, जोश र जाँगरको साथै विद्यालयमा एक प्रकारको हलचल नै ल्याइदियो । तर पञ्चायती राजनीतिमा महत्त्वपूर्ण मानिएका भुतपूर्व मन्त्री जोगमेहर संचालक समितिको अध्यक्ष भएकोले यस्तो कार्यक्रम स्वतन्त्र रूपले संचालन गर्न गाह्रो भयो । अन्ततः रोक्न हुनु प¥यो । स्कुलमा भाग्योदय साहित्यिक, न्ह्यलुवाः (अगुवा÷२०२९) जस्तै दैनिक हातले लेखेर पत्रिका विद्यार्थीहरूको तर्फबाट प्रकाशित गर्नमा उहाँको योगदान रह्यो ।
स्कुल बाहिर पनि उहाँले २०२६÷०२७ सालतिर उग्र पुस्तकालयमा हप्तै पिच्छे शुक्रबार, शनिबार साहित्य, बादविबाद र वक्तृत्वकला कार्यक्रम सञ्चालन गरिरहनु भयो । त्यसले साँखुमा झनै हलचल ल्याइदियो । त्यस्ता कुरा मन नपर्ने मानिसहरूको आँखा त्यहाँ पनि पुग्यो । कवि गिरिजाको कार्यक्रमले ढोंगी राजनीति गरिरहनेहरूलाई इर्श्या हुनु स्वाभाविक नै थियो । त्यसैले त्यहाँ पनि उहाँको गतिविधि रोक्न उनीहरू सफल भए । अझ एकदिन पुस्तकालय गइरहनुभएका कवि गिरिजालाई गुण्डा लगाएर खेद्ने काम भएको साँखुको इतिहास हो ।
तर काम गर्नेलाई रोक्ने कस्ले ? कवि गिरिजा त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जसको कुरा सुन्ने बित्तिकै प्रभावित भइ हाल्छ । भाग्योदय स्कुलको नेपालभाषा पिरियडसम्म पनि उहाँले नेपालभाषाका विद्यार्थीहरूलाई त्यस्तै प्रोत्साहन दिएर उत्साहित गरिराख्नु हुन्थ्यो । जस्को परिणाम स्वरूप साँखुका नव युवाहरूले साँखुको टोल टोलमा नेपालभाषाका विविध समूह संगठन स्थापना गरेर हप्ता पन्ध्र दिनमा साहित्य गोष्ठी सञ्चालन अगाडि बढाइरहे । साथै विविध हस्तलिखित साप्ताहिक पत्रिका, पन्ध्र दिने पत्रिका, मासिक पत्रिका प्रकाशित गर्ने कार्य भइरह्यो । न्ह्यलुवा, ज्यापु, अनि अरू पनि धेरै हस्तलिखित पत्रिका उहाँको प्रेरणाले प्रकाशित भइरह्यो । ब्वसल सामयिक संकलन प्रकाशित गर्नुमा पनि उहाँको त्यस्तै सहयोग थियो ।
साहित्य, संगीत, कला नृत्य क्षेत्रमा त्यतिकै प्रतिभा भएका कवि गिरिजाले भाग्योदय स्कुलको जन्म जयन्ति मनाउने क्रममा स्कुलका छात्राहरूलाई आफुले नै लय राखेर नयाँ नयाँ गीत सिकाएर, नाच्न सिकाएर २०२७÷०२८ सालतिर प्रस्तुत गरेको कार्यक्रमबाट साँखुमा एउटा नयाँ चरण थालनी भएको मानिन्छ । उहाँको गीतहरू त्यहाँ अत्यन्तै लोकप्रिय भए । पछि स्कुलले जन्म जयन्ति मनाउनै छाड्यो, किन हो थाहा भएन ।
फेरि २०३४ सालतिर जयबली क्लबको आयोजनामा प्रत्येक हप्ताको शुक्रबार, शनिबार टिकट सिष्टमबाट सांस्कृतिक कार्यक्रम संचालन गर्नुभयो । त्यही उहाँले नेपालभाषामा धेरै आधुनिक लययुक्त गीतहरू रचना गर्नुका साथै नयाँ प्रतिभाहरू हुर्काउनुभयो । पछि त्यो पनि बन्द भयो । साँखुबाट बाहिर काठमाडौं, पाटन, भक्तपुर अनि अरू विभिन्न नेवार बस्तीहरूमा जहाँ जहाँ उहाँका कृतिहरू पुगेका छन् त्यहाँ त्यहाँ उहाँको व्यक्तित्वले मानिसहरूलाई अति प्रभावित गरेको पाइन्छ । नेपालभाषाका जति पनि स्टेजमा उहाँले बोल्नुभयो ती ठाउँमा अति विवादास्पद नयाँ नयाँ कुराहरू गरेर मान्छेहरूको दिमागलाई हल्लाइ दिनु हुन्छ । त्यसैले उहाँलाई आफु चर्चामा आउन नयाँ नयाँ विवादको कुरा गरी हिँड्ने रजनीश जस्तो मान्छे भनेर मानिसहरूले भन्दै हिँडेको सुन्छु ।
उहाँको उपन्यास ‘सिलुस्वां’ प्रकाशन पछि त्यसलाई लिएर भएको आलोचना चर्चा परिचर्चाले नेपालभाषा क्षेत्रमा स्पष्ट हुनेगरी एकपटक कवि गिरिजा विरोधी र गिरिजावादीको बीच विभाजन देखाप¥यो । एकथरी मानिसहरूले आइन्दा उहाँका कृतिहरू नपढ्ने, नहेर्ने, नकिन्ने र नबेच्ने सम्म घोषणा गरे भनेर त्यति बेला व्यापक चर्चा भयो । त्यसपछि उहाँले पनि कथा, कविता, उपन्यास आदिका बारेमा आलोचना र साहित्यिक गतिविधिबारे टिप्पणीहरू गर्न थालेपछि उहाँको दृष्टिकोणलाई लिएरझनै धेरै विवाद हुन थाल्यो । तर, उहाँको साहित्यिक धारणाको विरोध गर्नेहरूले पनि उहाँको सृजनशील प्रतिभाको प्रशंसा गर्न भने छाडेनन् ।
(ख) राजनीति:
कवि गिरिजा कहिल्यै पनि प्रत्यक्ष राजनीतिमा अघि सर्नु भएन । तर, उहाँको लेखन प्रस्तुत साहित्य अनि उहाँले खेल्नु भएको भूमिकाबाट जहिले पनि राजनीतिक पक्षलाई नै जबरजस्ती बल पुर्याएको देखिन्छ ।
आफ्नो जीवनको प्रारम्भिक समय देखि अर्थात उहाँको साहित्य सृजनाको सुरुवातदेखि स्पष्ट राजनीतिक विचार उहाँमा देखिन्थ्यो भन्ने पक्षमा म छुइनँ । तर, उहाँले ठाउँ ठाउँमा प्रकट गर्नु भएको विचारमा अनि सृजना गर्नुभएको साहित्यमा देखिने भाव र विचारले भने उहाँ जहिले पनि निर्धा, सिधा, गरिब, शोषित, पीडित जनताको उज्वल भविष्यको निम्ति नै निरन्तर चिन्तित व्यक्तिको रूपमा देखिनु हुन्थ्यो ।
जहिले पनि आफूलाई साहित्य क्षेत्रमा प्रस्तुत गर्न चाहने कवि गिरिजा भित्रभित्रै निमुखा जनताप्रति राजनीति गर्नमा नै सक्रिय देखिनु हुन्थ्यो । हो, उहाँ कुनै पनि संघ संस्थामा धेरै समय बस्नु भएन तर जनतामा राम्रो राजनीतिक चेतना जगाउने काममा भने जहिले पनि देखिनुहुन्थ्यो । साँखुको युवाहरूलाई राजनीतिक चेतना जगाउने काममा उहाँको योगदान उल्लेखनीय छ । उहाँ कोही व्यक्ति विशेषको विरोधी नभई अन्याय, अत्याचार, शोषण, दमनको हतियार समाएर निम्न वर्गीय जनताको निम्ति दुःख दिइराख्ने व्यक्ति, व्यवस्था र राजनीति सबैको सक्रिय विरोधी हुनुहुन्थ्यो । त्यसैले नै प्रतिगामी राजनीतिका ठेकेदारहरूले उहाँको मुख थुन्न अनेक प्रयास गरे । गुण्डाहरू लगाएर उहाँलाई पिट्न लगाएको अनेक उदाहरण साँखुमा पाइन्छ । पैसा लिएर उहाँलाई पिट्ने जिम्मा लिएर आएको एकजना मानिसले पैसा दिँदैमा तिमीलाई पिट्छन् त भनेर उहाँ गिरिजालाई नै सुृनाउन आएको घटना पनि कवि गिरिजाले सुनाउने गर्नु हुन्थ्यो ।
उहाँको राजनीतिक विचारदेखि डराएरै वि.सं. २०३६ सालको चैत्र महिनामा साँखुमा भएको बहुदल र निर्दलको झगडामा एकजना प्रधानपञ्चको छोरा मरेको सिलसिलामा त्यो बेलाका (तत्कालीन) गृह मन्त्री जोगमेहर श्रेष्ठले प्रतिशोधपूर्वक सहित निर्दोष मानिसहरूलाई उहाँ गिरफ्तार गराएर ज्यानमारा मुद्दामा फसाउने दुष्प्रयास गरेर एक महिना भन्दा बढी थुनेर राखेका थिए । तर, पछि उक्त मुद्दामा उहाँलाई सफाई दिइयो । त्यस्तै राजनैतिक मतभिन्नताका कारण २०३४ सालदेखि भाग्योदय माध्यमिक विद्यालयमा रोलवmमानुसार कायम मुकायम हेडमास्टर भएको सहन नसकेर उहाँलाई हटाउन ट्रेनिङमा गएका हेडमास्टरलाई ट्रेनिङ नसकिँदै फर्काएर ल्याएको कुरा पनि जगजाहेर छ । पछि पनि उहाँलाई त्यो स्कुलमा माष्टर समेत हुन नदिने प्रयास भइरह्यो ।
समय समयमा उहाँको विचारमा अस्थिरता देखिएपनि उहाँ मार्क्सवादी विचारबाट मुक्त भने हुनु हुन्थेन । उहाँ प्रगतिशील विचारमा प्रतिवद्ध भएको कुरा उहाँले समयसमयमा व्यक्त गर्नु भएको विविध विचारबाट प्रष्ट हुन्छ । नेपालभाषा मंकाः खलःका नाइके पद्मरत्न तुलाधरको विचार अनुसार “कवि गिरिजा नेपालभाषाको मात्र नभई नेपाल राष्ट्र अझ संसारको सबै ठाउँका शोषित पीडित गरिब जनताको पक्षमा लेख्ने प्रगतिशील, क्रान्तिकारी मार्क्सवादी कवि हुन् ।” मार्क्सवादप्रति उहाँको स्पष्ट झुकाव उहाँले लेख्नुभएको ‘मन्त्र’ खण्डकाव्यमा व्यक्त भएको हामी पाउँछौँ । ‘देग’ पत्रिकामा समालोचक जगदीश चित्रकारलाई लेख्नुभएको पत्रमा पनि उहाँले आफ्नो राजनैतिक विचार स्पष्ट व्यक्त गर्नु भएको देखिन्छ ।
उहाँले जीवनको अन्तिम समयमासबै भन्दा पछि अन्तमा वि.सं. २०४४ तिर साँखुमा भएको प्रगतिशील साहित्यिक समाजको एउटा साहित्यिक कार्यक्रममा पुगेर उहाँले भाषाको निम्ति काम गरिरहेका मान्छेहरूलाई सोझै राजनीति नै गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो । त्यहाँ उहाँले, “भाषाको अधिकारको निम्ति बोलिरहने मान्छेहरू चुप लागेर बस्ने होइन, हामीले सोझै राजनीति गरिरहेका छौं भनेर अगाडि बढ्नु पर्छ । राजनीति आफ्नो हातमा लिएकाहरूले मनपरि गरी राखेका छन् । राम्रो विचार हुनेहरूले राजनीति नगरी भाषाको अधिकार लिन सक्दैनौं, त्यसैले राजनीतिलाई नै हामीले आफ्नो हातमा पार्नु पर्छ” भन्नुभएको थियो ।
(ग) भाषाको माया :
वास्तवमा कवि गिरिजा मातृभाषाको मायाले भरिपूर्ण व्यक्ति हुनुहुन्थ्यो । जिन्दगीभर उहाँको चिन्तनको विषय मातृभाषालाई कसरी माथि उठाउने भन्नेमा मात्र भइरह्यो । उहाँकोमा पुग्ने जोसित पनि नेपालको उपेक्षित भाषाहरूको मर्म बारे बोल्ने अनि उपेक्षित भाषा–भाषीहरूका जनताहरू चेतना जगाएर भाषालाई उकास्ने विचार व्यक्त गर्नुहुन्थ्यो उहाँ ।
कुनै पनि स्वार्थको लागि आफ्नो मातृभाषाको पक्ष छोड्ने उहाँको विचारमा थिएन । उहाँले आफ्नो मातृभाषा छोडेर अरू भाषामा लेखेर ख्याति कमाउने लोभ कहिल्यै गर्नु भएन । एक चोटी उहाँको कवितालाई अनुवाद गरेर साझा प्रकाशनले नेपालभाषाबाट अनुवाद भनेर उल्लेख नगरी प्रकाशन गर्ने कुरालाई उहाँले अस्वीकार गर्नुभयो । उहाँको भनाई पहिले नेपालभाषामा लेख्ने अनि अरू अरू भाषामा प्रकाशन गर्नपरे अनुवाद भनेर मात्र प्रकाशन गर्ने । नेपालभाषालाई भ¥याङ बनाएर पर्वतेभाषाको दास भएर तलब खान गएका स्वार्थी तत्वहरूलाई उहाँले जहिले पनि आलोचना गर्नुभयो ।
भाषा नीति स्पष्ट नभएको अनि गलत भाषा नीति अँगालेर नेपालमा राजनीति गरिरहेका सबै व्यक्ति अनि पार्टीहरूलाई उहाँले कहिल्यै पनि सहनु भएन । प्रगतिशील लेखक कलाकार सङ्घको अस्पष्ट भाषा नीतिले गर्दा त्यस सङ्घप्रति असहमत भएर उहाँले उक्त संस्थाका पदाधिकारीहरूलाई गाली गरेर पठाएको कुरा पनि उहाँले बरोबर उल्लेख गर्नुहुन्थ्यो ।
वि.सं. २०४४ जेठमा साँखुमा भएको प्रसासको गोष्ठीमा नै उहाँले अन्तिम रूपमा भाषा नीति सम्बन्धि आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्नु भएको थियो । त्यहाँ उहाँले त्रिभाषीय सुत्रमा उल्लेख गरेर नेपाल यस्तो विविध भाषा भएको देशमा सबै भाषालाई विकास गर्ने नीति त्रिभाषीय सुत्र अनुसार विद्यालयमा शिक्षाको माध्यम मातृभाषा गर्नु अनि प्रत्येक विद्यार्थीले आफ्नो देश भित्रका र छिमेकी भाषा एउटा र देशबाट बाहिरको अन्तर्राष्ट्रिय भाषा एउटा अनिवार्य सिकाउने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो । भाषा सम्बन्धि उहाँको यो धारणा नेपाल जस्तो बहुभाषिक देशका नीति अपनाउन लायक प्रगतिशील विचार हो ।
कृति :
काव्य १. महाकाव्य : – १. ल्वहँमा (नेपाल संवत ११३८, देगः म्हिचा सफू)
२. खण्डकाव्य :
१. हेल्चा (११४१, देगः म्हिचा सफू), २. मन्त्र (११०१ ल्यायम्ह पुचः), ३. बुद्ध नुगः (११०३, मयजु उत्तरा सिंह) ३. बाल कविता : १. द्वकचा ल्याहाँ ल्याहाँ वः (नेपाल संवत १०९०, भाग्योदय पब्लिक स्कूल) ४ काव्य : १. पालिख्वाँय (नेपाल संवत १०७९), २. आगं (१०८८), ३. सुथ नापं सुथय सुथय (१०९७), ४. गिरिजाप्रसादया गद्य कविता (१०९८), ५. तवन (११०५), ६. कविताचा (११३२, कुतः पिकाक), ७. गिरिजाप्रसादया ताहा कविता (११३२, कुतः पिकाक), ८. कविता पासः (नेपाल संवत ११३४, कुतः पिकाक), ९. हाकुगुगुंया न्हापांम्ह गायक (नेपाल संवत ११३२, देगः म्हिचा सफू), १०. किसिदुम्बो गीति काव्ये (नेपाल संवत १११०, देगः म्हिचा सफू), ११. खलुं, (कुतः पिकाक पाखें पिथनेत तयारि), १२. न्ह्यलुवाः न्हिपतिइ महाकवि गिरिजाप्रसाद जोशीया कविता (कुतः पिकाक पाखें पिथनेत तयारि)
गीत : १. हाइ हाइ रे थ्वँया बात्चा (१०८५, ल्हापसा जः बैकुण्ठ श्रेष्ठ), २. जनताया म्ये–छब्व (११००), ३. मां बोक्सी म्ह्याय सुन्दरी (११३६, कुतः पिकाक), ४. आशाकुति (१११५, कुतः पिकाक), ५. द्वंविद्वं (१११९, कुतः पिकाक), ६. गिरिजाप्रसादया म्ये÷गजल (११४२, महाकवि गिरिजाप्रसाद लुमंति प्रतिस्थान), ११. महाकवि गिरिजाप्रसाद जोशीया मे सफू (कुतः पिकाक पाखें पिथनेत तयारि) प्याखं : १. बाखा छेँ (११०२), २. हाकु स्वाहाने (११०७) उपन्यास : १. धकिं (१०९०), २. छि स्याना हत्या (१०९६), ३. सिलुस्वाँ (१०९८), ३. भाजंमिखा (१०९९), ४. विपात्र (१०९९ लुमन्ति खलः), ५. व गमला थ्व खै थल (११०३), ६. व ल्वहँ जि झ्वाल्ला (११०७), ७. येँ शहर यमि गामा (१११२), ८. न्याल्ल ब्यां (११००), ९. गुतारंगी प्रेत (११२८ कुतः पिकाक), १०. सिलु म्ये (११२०, कुतः पिकाक), ११. बुँख्याःचा (११३१, कुतः पिकाक),
गिरिजाप्रसाद जोशीया उपन्यास मुना (११४२, कुतः पिकाक ) बाल उपन्यास : १. लक्ष्मी–सरस्वती (११०१, नेपालभाषामा पहिलो बाल उपन्यास) गजल : १. गजल सीके (कुतः पिकाक) समाचोलना : १. गिरिजाप्रसादया समाचोलना (नेपाल संवत ११४१, कुतः पिकाक) कमिक : १. लुति अजिमा (११०९, देगः म्हिचा सफू) गीत क्यासेत र सिडि : १. लिसवाः २. मां नेपाः (११३५) फिल्म :
१. चिपनिप (११०९) खस भाषामा अनुदित : विपात्र (उपन्यास, अनुवादक : नारद बज्राचार्य, नेपाल प्रज्ञा प्रतिस्थान, नेपाल संवत ११४२)
प्रकाशनमा आउन वांकि रहेका कृतिहरु : –
म्ये, कविता, बाखं : १. लिसः वा, २. खुसि पारी च्वंम्ह ल्यासे, ३. ध्याचः, ४. अप्पाबाकु, ५. बाखंपा, ६. जिगु जन्म, ७. किपा, ८. हुल्याहा, ९. मातृभूमि, १०. जि मुल्याहा, ११. द्वहलपा, १२. माँ नेपाः, १३. जि जुजु मन्त हँ, १४. सुथ, १५. छगू म्ये सफू, १६. निस्कर्ष, उपन्यास : १. कँझाः, २. ले ले क्वेँ क्वेँ, ३. समाजया ध्याचलय, ४. वेँ, ५. वाःचाः, ६. विश्व वियोग, ७. सिमा साक्षी खण्डकाव्य : १. शान्तिया लँपुइ । प्याखं : १. कलंकि अवतार, २. झं जक माया, ३. प्रेमया अन्त, ४. समाया ख्वबि, ५. जिला ज्यापु जूवने, ६. छगू ब्वसा, वरवादी स्वैगु, ७. थ्वँ गुलु मास्टर, ८. भूल, ९. भ्वातिं, १०. मिसा पासा, ११. पश्चाताप, १२. कलंक ।
यसबाहेक उहाँका अरू पुस्तकहरू नहोला भनेर हामीले अहिले यसै भन्न सक्दैनौं । उहाँका कृतिहरूको लिष्ट विस्तृत रूपबाट प्रकाशमा ल्याउन आवश्यक छ । साथै नेपालभाषाको विकाशको लागि स्थापित विविध संस्थाहरूले अझ नेपालभाषा मंकाः खलःले उहाँका अप्रकाशित पुस्तकहरू प्रकाशन गर्न विशेष प्रयास गर्नुपर्ने देखिन्छ ।
उहाँका विविध कृतिहरूका चर्चा यो छोटो लेखमा होइन अर्कै किसिमले हुनुपर्ने आवश्यकता छ । त्यसैले कृतिहरूको चर्चा यहाँ यति मात्र गरौँ ।
विशेषता :
कवि गिरिजा नेपालभाषाको क्षेत्रमा जहिले पनि उज्यालो दिइराख्ने तारा हो । उहाँको व्यक्तित्व अनि कृतिहरूले उहाँलाई कहिले पनि नओइलाउने फूल बनाइदिएको छ । उहाँको सबैभन्दा ठूलो विशेषता भनेको आफ्नो अगाडि आउने जो कोहीलाई पनि एकदम उत्साहित गरेर कुरा गर्ने । उहाँले आफूमात्रै विख्यात साहित्यकार भई मरेर जाने चाहना कहिल्यै पनि गर्नु भएन । नेपालभाषामा धेरै नयाँ प्रतिभा तयार पार्ने कुरामा पनि उहाँले त्यत्तिकै आफ्नो योगदान दिनुभएको थियो । उहाँको महŒवपूर्ण बिचार भनेको “जीवन व्यर्थमा बिताए पनि मृत्यु खेर नफाल्ने” जहिले पनि राम्रो काम गरेर राम्रो बाटोमा लागेर मर्न नडराउनु भन्ने थियो । “लौ बच्चाहरू देश र जनताको निम्ति तिमीहरूले केही गनुपर्छ” भन्ने उहाँको बानी नै थियो ।
मास्टरी गर्दा र हेडमास्टर भएर प्रशासन चलाएर पनि साहित्य सृजना गर्ने काममा उहाँ कहिल्यै पछि पर्नु भएन । वि.सं. २०३९, ४०, ४१ सालमा साँखुमा भाषा साहित्य कार्यक्रम संचालकहरूले गाइजात्रा पर्वमा जनताको गीत टोल टोलमा घुमेर देखाएको बेलामा पनि उहाँले जनताको गीत रचेर लय् हालेर त्यहाँका युवाहरूलाई गीत गाउन सिकाउनुभयो । जनताको दुःख, पीर र व्यथा अनि अन्याय, दमन, शोषणको विरोधमा मार्मिक भावना व्यक्त भएको ती गीत एकदम लोकप्रिय भयो ।ँ कवि गिरिजा मात्रै कवि नभई अरूलाई पनि ब्युँझाउने शक्ति भएको जागृत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको गीत, काव्य, नाटक वा उपन्यास सबैमा व्यक्त भावना अनि विचारमा व्यक्तिहरूलाई जागरूक बनाउने प्रेरणायुक्त सम्प्रेषण शक्ति पाइन्छ । त्यहाँ कुनै निरसता छैन । त्यसैले गिरिजाको साहित्यलाई मुक्तकण्ठबाट प्रशंसा गर्नेहरू नेपालभाषा क्षेत्रमा धेरै छन् ।
उहाँको अर्को उच्च विशेषता भनेको व्यक्तिगत स्वार्थ परिपूर्तिको “क्रान्ति गरेर पाइने जीवन विन्ति गरेर पाइँदैन” भन्ने महान उक्ति दिने कवि गिरिजा जहिले पनि निस्वार्थ किसिमले कसैको अगाडि शिर नझुकाईकन जानुभयो । आफूलाई लागेको कुरा गर्न उहाँ कहिल्यै पछि पर्नु भएन । निर्भिक, निर्भयी भएर आफ्नो कुरा जुनसुकै लेखमा जहाँसुकै मञ्चमा पनि व्यक्त गर्ने काम उहाँले गरेर जानु भयो । एकजना विद्वानको “झुत्रो लुगा लाउने नयाँ पुस्तक किन्ने” भनाई उल्लेख गरेर हिँड्ने कवि गिरिजाले व्यवहारमा पनि अपनाउनु भयो ।
अति संवेदनशील, भावुक एवं आदर्शवादी कवि गिरिजा असाधारण रूपले साधारण भएर जोसँग पनि भिजेर मिल्ने स्वभावको हुनुहुन्थ्यो । (नराम्रो काम गर्नेहरूसँग होइन) बर्षौँ बर्ष पुरानो लुगा कोट, पाइट, जुत्ता लाएर हिंड्नु परेपनि पैसा कमाएर मोजमज्जा गरेर सौखिन जीवन बिताउँ ला भनेर कहिले पनि सोच्नुभएन । साधारण भएरै जीवन जीउने उहाँको विशेषता थियो ।
कमजोरी :
मानिसहरू गुणै गुणले मात्र युक्त हुन्छन् भन्ने कुरा पत्यार गर्न लायक कुरा होइन । कवि गिरिजा पनि एकजना मान्छे हो । मानवीय स्वभाव अनुसार उहाँमा पनि दुर्गुण नभएको होइन । तर उहाँले गरेर जानुभएको त्याग, तपस्या र बलिदानको अगाडि भने नगन्य रूपमा भएको उहाँका दुर्गुणहरू सामान्य लाग्छन् । उहाँलाई धेरैजसो मानिसहरूले जिद्दिवाल भनेर टिप्पणी गरेको सुनिन्छ । हुन पनि अनेक तर्क गरेर आफ्नो कुरा नै ठीक भनेर जिद्दी गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई एकलकाँटे विचारको मान्छे भनि आलोचना गर्छन् । त्यसो त उहाँ आफूमाथि हुने आलोचनाबाट बिचलित हुनुहुन्थ्यो । त्यसैले उहाँले जः (पत्रिका) ९ अंकमा दिनु भएको अन्तर्वार्तामा “गिरिजा जस्तै एक्लै जिउने हिम्मत कसैले गर्न सक्छ ?” भनेर च्यालेञ्ज गर्नुभएको छ । उहाँको अर्को कमजोरी हो आफ्नो तर्क आफैले काट्ने र तर्क गर्ने प्रबृति । आफूले गरेको कुरा पनि बिर्सेर तर्क गरिरहने बानी । यस्ले गर्दा उहाँ अस्थिर बिचारको मान्छे भनेर पनि आलोचना हुने गरेको छ ।
हुनलाई त एकजना सृजनशील साहित्यकार अनि गुजारा चलाउनलाई शिक्षण पेशा अपनाउने व्यक्ति भएर पनि हुनसक्छ उहाँले राम्रोसँग संगठनको काम गर्नु भएन । संगठित हुनु संगठनमा अनुशासित भएर नबस्ने उहाँको बानीले गर्दा नोक्सानी सहनु परेको कुरा पनि धेरै सुन्न पाइन्छ । उहाँको अर्को कमजोरी भनेको आफ्नो स्वास्थ्यलाई ख्याल नगर्नु पनि हो । हुन त उहाँले त आफ्नो संपुर्ण जीवन लेखनमा विताउनु भयो । तर बर्षौँबर्ष पेटमा अल्सर रोग पालेर पनि बेलैमा उपचार नगरि बस्नाले अन्तिम बेलामा पुग्दा प्राणघातक क्यान्सरले किड्नीसम्म असर पुर्याउन सकेको थियो । यसरि आफ्नै वेवास्ते उहाँको जीवनको आयु छोटो भयो । अरू केही वर्ष कवि गिरिजा बाच्नु भएको भए कति बढि कृति श्रृजना गर्दा हुन । यो कुरा अब एक सपना मात्र हुने भयो कहिल्यै पूरा नहुने ।
अन्तमा :
यो छोटो लेखमा बहुप्रभावशाली कवि गिरिजालाई सवै पक्षमा पूर्ण रूपले प्रस्तुत गर्न संभव पनि छैन त्यस्तो गर्ने मेरो उद्देश्य पनि होइन । यसमा संक्षिप्त रूपमा उहाँको जीवनका विविध पक्षबारे प्रकाशन पार्न सके पनि भने मात्र हामीले उहाँबारे उच्च ज्ञान लिन सकिन्छ देश, समाज र भाषाबारे निरन्तर चिन्तित व्यक्ति कवि गिरिजाको बारेमा हामीले थाहा पाउन भन्ने लाग्छ । अनि उहाँलाई सम्मान गर्ने हो भने मेरो विचारमा उहाँको उद्देश्य पुरा गर्न हामी समर्पित हुनुपर्छ । जसरी उहाँले निःस्वार्थ भावले आफ्नो व्यक्तिगत महत्वाकांक्षा छोडेर मातृभाषा अनि गरिब, शोषित, पीडित, सोझासिधा, निर्धा जनताको उज्वल भविष्य बनाउनको निम्ति आफ्नो सीप, प्रतिभा, जोश, जाँगर र समयको प्रयोग गर्नुभयो त्यरी नै यो क्षेत्रमा रहका संगठित भएर व्यक्ति र संस्थाले उहाँको सपना पुरा गर्न बलियो प्रयास गरेर जान तल्लिन हुनुपर्छ । यति भयो भने मात्र कवि गिरिजालाई हामीले श्रद्धाञ्जली अर्पण गरेको सार लाग्छ नत्र होइन । (मित्याः)
एक अञ्जुली श्रद्धाञ्जली कवि गिरिजालाई
गएको ७ सेप्तेम्बर १९८७ बेलुका ९:३० बजेतिर महाराजगंजको टिचिङ अस्पतालमा नेपालभाषाका बहु प्रतिभाशाली कवि गिरिजा प्रसाद जोशी ४९ वर्षको उमेरमा बेला नहुँदै बित्नुभयो । उहाँको निधनले नेपालभाषा क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
कवि गिरिजा एक यस्तो व्यक्ति हो, जसले आफ्नो जीवनको सक्दो धेरै समय नेपालभाषा क्षेत्र उर्वर पार्नको निम्ति उपयोग गरेर जानुभयो । उहाँले आफनो समय, शक्ति, जोश अनि जाँगर सबै कुरा आफ्नो मातृभाषा उकास्ने कामको निम्ति उपयोग गरेर जानुभयो । जागिरको सिलसिलामा, विदेशमा रहँदा माष्टरीगरिरहँदा हेडमाष्टर भएर स्कूल चलाई रहँदा अझ घरमा रहँदा पनि उहाँको चिन्ताको विषय आफ्नो मातृ भाषा भइरह्यो ।
४९ वर्षको बैसमा नै ७० वटा जति पुस्तक नेपालभाषा क्षेत्रमा छोडेर जानु भएका कवि गिरिजाको जीवन अनि कृतिहरूबारे विस्तृत रूपमा नै प्रकाशन गर्नुपर्ने नितान्त आवश्यक देख्छु । तैपनि अहिलेलाई “इनाप” साप्ताहिक संख्या २२८ मा प्रकाशन भएको छोटो यो जीवनी मात्र प्रकाशन गरेर भएपनि उहाँलाई चिन्न मद्दत होस् भनेर हामीले यो सानो पुस्तक प्रकाशन ग¥यौँ । आशा छ यो सानो पुस्तकले भएपनि कवि गिरिजाको बारेमा बुझ्न चाहनेहरूको निम्ति केही मद्दत मिल्नेछ । धन्यवाद ।
पहिलो प्रकाशन :
नेपालभाषामा मित्या प्रकाशनबाट सेप्टम्बर १९८७, काठमाडाैं नेपालभाषाबाट खस-नेपालीमा अनुवाद गर्नुहुने रमा ताम्रकार कर्णजीत । खस-नेपालीमा पुस्तककोरुपमा पहिलो प्रकाशन : कुत पिकाक भक्तपुरबाट (नेपाल संवत ११४४/विसं २०८०/सन २०२४) साभार : जनमत साहित्यीक मासिक ३१५, अंक ।

















