अपराध, मधेश प्रदेश

जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २६ | मध्यान्ह ०७:१२ बजे

धनुषा, चैत २६ । धनुषाको जनकपुरधाममा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित विश्वकर्मा चोकमा आज दिउँसो छुरा प्रहारबाट एक युवकको हत्या भएको हो ।

महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता अवालेका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । तर, अहिले उनीहरूमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवालेले बताए ।

पक्राउ परेकाहरूको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्री समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न रहेकाहरू लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ । 

कमेन्टहरु