रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


रौतहट, चैत २५ । रौतहटको उत्तरीभेग गुजरा नगरपालिकास्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
धनसारबाट जंगलसैयातर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बरको धान काट्ने ट्याक्टरले गुजरा – ४ मुस्लिम टोलमा बिहान सवा ७ बजे साइकलबाट बाटो काटिरहेका शेख हसमुल्लाका १३ वर्षीय छोरा शेष सहनवाजलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर आवतजावत बन्द गरेकाले घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले पीडित परिवारसँग दोषीलाई कारवाही र कानुन अनुसार क्षतिपूर्ति दिने सर्तमा सहमति गरिएको बताए । सहमति अनुसार लिखित रूपमा कागज तयार हुँदै गरेको र त्यसपछि अवस्था सहज हुने उनको भनाइ छ ।























