बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर


बुटवल, चैत्र २० । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह र रितेन्द्र थापाको संयुक्त इजलासले केसीलाई दोषी ठहर गरी दुई वर्षको जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका – ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेको अख्तियारको भनाइ थियो । त्यसक्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको छ ।
केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।
अभियोजनमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका जिसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । जिसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारको दाबी छ । अख्तियारको दाबीलाई विशेष अदालतले सही ठहर्याउँदै जिसीलाई पनि कसूरदार ठहर गरेको हो ।























