बिजयनगरमा ७० किलो अवैध कुखुरा नष्ट

बिजयनगर । कपिलवस्तुको सशस्त्र प्रहरी बल नेपाल विजयनगर (बिओेपी)ले अवैध ब्रोइलर कुखुरा नष्ट गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ कटनियाबाट बरामद गरिएको ७० किलो ब्रोइलर कुखुरा शुक्रबार नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल विजयनगरका सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले तस्करले अवैध रुपमा भारतबाट नेपालतर्फ चोरी पैठारी गरि ल्याउँदै ओसार पसार गर्न लागि रहेको ब्रोइलर कुखुरा बरामद गरि नष्ट गरिएको बताए । उनले बरामद गरिएको कुखुराको अन्दाजी मूल्य १७ हजार ५ सय रुपैयाँ बराबरको रहेको बताए ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बल (बिओेपी) विजयनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक जनक मल्लको कमाण्डमा खटिएको ७ जना र नेपाल प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक राम मिलन हरिजनको कमाण्डमा खटिएको ३ जनाको संयुक्त गस्ती टोलीले उक्त अवैध कुखुरा बरामद गरेको छ ।
पशु क्वारेन्टाइनका प्रतिनिधि कृष्णनगरका डा. दयाराम चौधरी र जनप्रतिनिधि, स्थानीय, सञ्चारकर्मीको रोहबरमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार अवैध कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी बल विजयनगरले जनाएको छ ।























