मधेश प्रदेश, शिक्षा

रौतहट कारागारबाट एक जना एसइई परीक्षामा सहभागी

अशोक यादव
२०८० चैत्र १६ | बिहान १०:१२ बजे

रौतहट, चैत १६ । एसइई परीक्षामा रौतहटका एक जना परीक्षार्थी कारागारबाट सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्ला कारागार रौतहटबाट एक जना परीक्षार्थी एसइईमा सहभागी भएको जनाएको छ ।

यसैगरी रौतहटबाट एक परीक्षार्थी प्रहरी हिरासतबाट एसइईमा सहभागी भएका छन् । इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतमा रहेको एक जना परीक्षार्थी एसइईमा सहभागी भएका हुन् ।

रौतहटमा एक जना दृष्टिविहीन परीक्षार्थीले पनि परीक्षा दिइरहेको इकाइ प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।

रौतहटमा एसइईको पहिलो दिन २६१ परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाको विभिन्न केन्द्रमा ११६ छात्रा र १४५ छात्र गरी २६१ जना परीक्षार्थी अनुपस्थित भएको इकाइ प्रमुख सिंहले जानकारी गराए ।

कारागार तथा हिरासतमा रहेका र दृष्टिविहीनका लागि परीक्षाको अलग्गै व्यवस्था गर्नु पर्ने प्रावधान रहेको छ । सो अनुरुप उनीहरुलाई परीक्षाका लागि अलग ब्यबस्था गरिएको छ ।

कमेन्टहरु