यस वर्षको एसइइ परीक्षामा पाल्पाबाट ४ हजार बढी विद्यार्थी सहभागी हुँदै


पाल्पा, चैत १४ । पाल्पाबाट याे वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १८२ जना विद्यार्थी सहभागी हुँदै छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिन लागेका हुन् । ।
तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थीले परीक्षा दिँदै छन् । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारबाट एक जना परीक्षामा सहभागी हुने प्रमुख सुवेदीले जानकारी दिए ।
एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसइइ दिने तयारी गरेका छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन् ।
गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुँदै छन् । परीक्षा मर्यादित बनाउन ४०० बढी सुरक्षाकर्मीसहित ७०० बढी जनशक्ति खटिनेछन् ।























