नवलपुरको धौबादी डाँडामा पदमार्ग


नवलपुर, चैत १३ । आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले नवलपुरको हुप्सेकोट गाउँपालिकाले धौबादी डाँडामा फुट ट्रेल (पदमार्ग) निर्माण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जिल्लाको उच्च भागमा पर्ने धौबादीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको बताउनुभयो । गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुग्ने मुख्य गन्तव्य पनि यहीँबाट हुने भएकाले यसको विकास गरिएको उहाँले बताउनुभयो ।
धौबादी जाने दलदलेबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो ठाउँमा बाह्रै महिना जाडो हुन्छ । यहाँको प्राकृतिक दृश्य अवलोकनसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकियो भने मात्र पनि यहाँको विकासमा प्रभाव पर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
पदमार्ग छ फुट चौडाइको सब स्ट्रक्चरसहित प्राकृतिक ढुङ्गा बिछ्याएर निर्माण भएको छ । यसलाई १० किलोमिटर बनाउने गरी प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयबाट विनियोजित एक करोड रुपियाँको लागतमा निर्माण गरिएको हो । वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रानामगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि लोभलाग्दो हुनाले दिनहुँ धेरै सङ्ख्यामा पर्यटक पुग्ने गरेको बताउनुभयो ।























