पर्यटन

गुल्मीको धुर्कोटमा रहेको विचित्र गुफा

इन्द्रजित नेपाली
२०८० चैत्र ११ | बिहान १०:१२ बजे

गुल्मी, चैत ११ । गुल्मीको धुर्कोट–५ मा यो विचित्र गुफा पर्दछ । यो विचित्र गुफा विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए ।

विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको भण्डारी बताउँछन् ।

गुफाको लम्बाइ एक सय ८५ मिटर र चौडाइ तीन सय ५० मिटर रहेकोे छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।  गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ । 

गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी रकम लगानी भएको छ । उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ ।

यसरी पुग्न सकिन्छ गुफासम्म
सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हुदैँ धनार्जेसम्म १८ किलोमिटर पक्की सडक पुगेको छ । त्यसपछि तीन किलोमिटर कच्ची सडक पार गर्दै करिब २५ मिनेटको पैदल यात्रापछि गुफासम्म पुगिन्छ भने धनार्जीबाटै १० मिनेको सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ ।

त्यस्तै बाग्लुङ, प्युठान, मालिका गाउँपालिका लगायतका ठाउँबाट धनार्जीमा पुगेर सवारी वा पैदल यात्राबाट गुफासम्म पुग्न सकिन्छ । सदरमुकाम तम्घासबाट सेउघा–सिमाघाट–जैसिथोक हुँदै वस्तुको शिवालय मन्दिरमा पुग्ने र त्यहाँबाट करिब १० मिनेटको सवारी यात्रा एवम् २० मिनेटको पैदल यात्रापछि पनि गुफासम्म पुग्न सकिन्छ ।

कमेन्टहरु