पर्यटन

लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको सुरू

नवलपुर टुडे
२०८० चैत्र १० | मध्यान्ह ०४:१२ बजे

बुटवल, चैत्र १० । लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको सुरू गरेको छ ।

कोषले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी स्थित मायादेवी मन्दिर दर्शनमा सहज होस् भनी अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरिदिएको हो ।शनिबार कोषका अध्यक्ष एवम् संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अनलाइन टिकेटको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री तामाङले अनलाइन टिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अनलाइन टिकटिङले टिकट काट्न घण्टौ लाईनमा बस्नुपर्ने झन्झटको अन्त्य गरिदिने भएकोले पर्यटकहरुको संख्यामा वृद्धि हुने बताए ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाइन टिकेटिङले कोषको आम्दानी वृद्धि हुने बताए ।

कोषको वेबसाइट www.lumbinidevtrust.gov.np लगइन गरी ई-टिकेट्समा गएर टिकट काट्न सकिन्छ ।

ई-टिकेटस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैंक, ई-सेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।

लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष १० लाख पर्यटक आएका थिए ।

कमेन्टहरु