श्रीमतीको सुपारीमा श्रीमानको हत्या


पोखरा । कास्कीको सिक्लेसमा एक पुरुषको हत्या भएको छ । सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङको हत्या भएको हो ।
तामाङको हत्या आरोपमा प्रहरीले उनकै श्रीमती र अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् ।
रामलाललाई कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर धनबहादुर, नवीन र अजितले फकाए । रामलालले डोजर, एक्स्काभेटर चलाउँथे । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने भन्दै रामलाल पनि खुसी हुँदै सिक्लेस आए ।
तर, उनी चैत ३ गते मृत भेटिए । अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो । उनको हत्या गरेर उनीसँगै आएका धनबहादुर, नवीन र अजित भएका थिए । उनीहरुलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका एक जनासँग च्याङ्माको सम्बन्ध रहेको खुलेको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको प्रहरीले जनाएको छ ।























