अपराध, मधेश प्रदेश

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकेका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०६:१२ बजे

नवलपरासी, चैत २ । नवलपरासी प्रहरीले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका फरार प्रतिवादीलाई १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले नवलपरासीको साविक गुठीसुर्यपुरा गा.वि.स. वडा नं.०९ झुलनीपुर बस्ने वर्ष ६५ को नौमी प्रसाद राजभरलाई पक्राउ गरेको हो ।

नौमी प्रसाद सोही स्थान बस्ने अरविन्द्र राजभरको हत्या गरी फरार भएका थिए । घटना मिति २०६६ असोज ११ गतेको हो । त्यसदिन बेलुकी नौमी प्रसादले अरविन्द्रलाई भारतको महाराजगंजस्थित ठुठिबारीमा आफन्तको घडेरी जग्गा किनाइ दिने भनि भारु ४ लाख लिइ गाँउ घुम्न जाऊ भनी घरबाट संगै निस्केका थिए, तर उक्त दिन अरविन्द्र घर फर्केन ।

यस सम्बन्धमा बुझ्दै जाँदा सो दिन मृतक अरविन्द्र राजभर, नौमी प्रसाद राजभर, रामचन्द्र राजभर र मरिकान्त धरीकार गरी ४ जना भई गाँउमै रहेको होटलमा गई रक्सी खाई निस्केका थिए । त्यसदिनदेखि बेपत्ता रहेका अरविन्द्रको १२ दिनपछि २३ गते साविक गुठीसुर्यपुरा गा.वि.स. वडा नं. ०५ स्थित रहेको पावर हाउसको रेडियल गेटमा लास फेला परेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा नौमी प्रसाद, रामचन्द्र र मरिकान्त मिलेर अरविन्द्रलाई रक्सीमा बिषादी मिसाई खुलाएको र बाटोमा ढलेपछी ३ जना मिलि भारतीय गण्डक नहरमा फाली मृतक अरविन्द्रको साथमा रहेको पैसा बाड्ने सहमती भएको भन्ने कुरा प्रतिवादी रामचन्द्रबाट खुल्न आएको र सोही व्यहोराको आधारमा उनीहरुविरुद्ध किटानी जाहेरी परी पक्राउ गरिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि सम्मानित नवलपरासी जिल्ला अदालतबाट मिति २०७५ बैशाख ५ गतेको आदेशानुसार साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहरी फैसला भएको थियो ।

वरदात पश्चात प्रतिवादी नौमी प्रसाद छिमेकी मुलुक भारततर्फ गई आफ्नो नाम परिवर्तन गरी बिक्रम सिंह नाममा भारतिय आधार कार्ड बनाई लुकिछिपी बस्दै आएका थिए । उनी दिल्लीमा पेन्टिङको काम गर्दै आईरहेको र कहिलेकाँही मात्र आफ्नो घरमा आउने गर्दथे । घर आउने क्रममा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १ गते बिहीबार उनलाई पाल्हिनन्दन गाउँपालिका- १ महेशपुरबाट पक्राउ गरिएको हो ।

उनलाई फैसला कार्यन्वयनका लागी सम्मानित नवलपरासी जिल्ला अदालत परासी शुक्रवार (आज) पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

कमेन्टहरु