समाचार

प्रहरी कार्यालयबाट भागेका थुनुवालाई समाउन खोज्दा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

नवलपुर टुडे
२०८० फाल्गुन २८ | मध्यान्ह ०४:११ बजे

दार्चुला, फागुन २८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न खटिएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा गत फागुन २१ गते पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर मुद्दा शाखामा सोधपुछ चलिरहेको बेला हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए । 

भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हाम फाल्दा भिरमा पुगेर टाउकोमा चोट लागेको थियो । लडेको केहीबेरमै जवान चौधरीको मृत्यु भएको थियो ।

उनको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । भागेका थुनुवा कुँवरलाई भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु