प्रतापपुर गाउँपालिकाले मनायो ११४औं नारी दिवस

प्रतापपुर, फागुन २४ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आज “महिलामा लगानि: सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४औं नारी दिवस मनाएको छ ।
गाउँपालिकाको उपाध्यक्ष मान कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न नारी दिवस कार्यक्रममा पालिकाका विभिन्न संघ संस्थाका करिव २०० अगुवा महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं ७, टाङिकोटमा रहेको सिरथान महिला लघु उद्यमी समुहका अध्यक्ष श्री सावित्री चौधरीले पटेरको सुकुल म्याट तथा पटेरको अन्य वस्तु बनाउने र बिक्री वितरण गरि सफल उद्यमी बन्दै उत्कृष्ट उद्यमीको रूपमा प्रतापपुर गाउँपालिकाद्वारा सम्मानित भएकी थिइन् ।

साथै प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुरमा रहेको प्रतापपुर चिप्स लघु उद्यमी समुहका अध्यक्ष श्री दुर्गा चौधरीले केराको चिप्स बनाउने र बिक्री वितरण गरि सफल उद्यमी तथा उत्कृष्ट उद्यमीको रूपमा सम्मानित भएकी थिइन् । यस्तै प्रतापपुर गाउँपालिका वडा नं २, प्रसौनिमा रहेको सिरक डसना बनाउने लघु उद्यमी समुहका श्री बसन्ति चौधरीले रुइ फेट्ने काम गरि उत्कृष्ट उद्यमीको रूपमा सम्मानित भएकी थिइन् ।

सो कार्यक्रममा सय वर्ष कटेका चार जना जेष्ठ महिलाहरुलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतापपुर गाउँँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी र वडा नं. ९ का वडा अध्यक्ष जय किशुन चौधरीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता गरेकी उपाध्यक्ष मान कुमारी चौधरीले महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा आम महिला दिदि बहिनीहरुको हक हित संरक्षणका लागि तथा महिलाहरुमा नेतृत्व विकास गर्नका लागि प्रतापपुर गाउँपालिकाले विशेष महत्वका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्न प्रतिबद्ध रहेको बताएकी थिइन् ।

विभिन्न लघु उद्यम सुमह बनाई आय आर्जनका बाटोमा अग्रसर रहेका महिला अगुवाहरुलाई सम्मानित गर्न पाउदा आफु हर्षित भएको बताउँदै उनले प्रतापपुर गाउँपालिका भित्रका महिलाहरुमा विभिन्न सिप विकास गरि आयआर्जनमा जोड्नु नै सभ्य र सम्मुनित समाजको थालनी रहेको बताइन् । सो कार्यक्रमको संचालन ईन्द्रेणि सामाजिक विकास मंचको समाजिक परिचालक मन्जु श्रेष्ठले गरेकी थिइन् ।

साथै सो कार्यक्रममा इन्द्रेणि सामाजिक विकास मंच र सुनवल सामुदायिक विकास केन्द्रको समन्वय रहेको थियो ।























